उद्योग मन्त्रालयका १०० दिन : औद्योगिक सुधारदेखि बजार अनुगमनसम्मका उपलब्धि सार्वजनिक
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वर्तमान सरकार गठनपछिको पहिलो १०० दिनमा सम्पन्न भएका प्रमुख कार्यहरूको प्रगति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले मन्त्रालयले औद्योगिक विकास, आपूर्ति व्यवस्थापन, वैदेशिक व्यापार प्रवर्द्धन तथा उपभोक्ता हित संरक्षणका क्षेत्रमा नीतिगत र व्यावहारिक सुधारका कामहरूलाई प्राथमिकताका साथ अघि बढाएको बताएकी छन्।
मन्त्रालयका अनुसार सरकारका प्राथमिकता र लक्ष्यलाई केन्द्रमा राखेर सय दिनभित्र परिणाममुखी कार्यक्रम कार्यान्वयन गरिएको छ। आर्थिक गतिविधिलाई चलायमान बनाउने र नागरिकलाई सुशासनको अनुभूति गराउने उद्देश्यले विभिन्न सुधारका पहल गरिएको मन्त्री यादवको भनाइ छ।
प्रधानमन्त्री कार्यालयमा पेस गरिएको प्रगति विवरणमा ऐन तथा नियमावली संशोधन, रुग्ण उद्योगहरूको पुनरुत्थानका लागि कार्ययोजना निर्माण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरण र बजार अनुगमनलाई प्रभावकारी बनाउने विषय समावेश गरिएको छ।
मन्त्रालयले सय दिनको कार्यसम्पादनलाई आधार बनाएर आगामी दिनमा उद्योग, व्यापार र आपूर्ति क्षेत्रका सुधारलाई थप तीव्रता दिने प्रतिबद्धता जनाएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया