रास्वपामा मनोनयनको चासो: उपसभापतिदेखि प्रवक्तासम्म कसले पाउलान् जिम्मेवारी?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट सभापतिसहित ९९ जना केन्द्रीय सदस्य निर्वाचित भइसके पनि पार्टीको केन्द्रीय समितिले अझै पूर्णता पाउन बाँकी छ। अब वरिष्ठ नेतासहित ११ जना पदाधिकारी, ३१ जना सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्य मनोनयन हुन बाँकी छन्।
निर्वाचित पदाधिकारीहरूले असार १७ गते शपथ ग्रहण गरिसकेका छन्। तर उपसभापति, महामन्त्री, सहमहामन्त्री, प्रवक्ता, सहप्रवक्ता, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदमा कसलाई जिम्मेवारी दिइन्छ भन्ने विषयमा पार्टीभित्र व्यापक चासो देखिएको छ।
पूर्वसहमति अनुसार प्रधानमन्त्री बालेन्द्र शाह वरिष्ठ नेताको भूमिकामा रहने निश्चित मानिएको छ। चितवनको भरतपुरमा सम्पन्न महाधिवेशनबाट दुई उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्री निर्वाचित भइसकेका छन्, जसलाई सभापति रवि लामिछाने निकट समूहको प्रतिनिधित्वका रूपमा हेरिएको छ। बालेन पक्षबाट भने असीम शाह मात्र सहमहामन्त्रीमा निर्वाचित भएका छन्।
पार्टी विधानले सभापतिलाई पदाधिकारी, सचिवालय सदस्य र केन्द्रीय सदस्य मनोनयन गर्ने पूर्ण अधिकार दिएको छ। त्यसैले बाँकी पदहरूको टुंगो लगाउन सभापति लामिछानेले आन्तरिक गृहकार्य सुरु गरिसकेको निकट स्रोतहरू बताउँछन्।
पार्टीभित्र एकता र समायोजन प्रक्रियाबाट आएका नेताहरूलाई उचित व्यवस्थापन गर्नुपर्ने भएकाले परामर्शका आधारमा मनोनयन गरिने तयारी रहेको बताइएको छ। साथै, ‘एक व्यक्ति, एक जिम्मेवारी’ को अवधारणालाई प्राथमिकता दिँदै प्रत्यक्ष निर्वाचनमा सहभागी नभएका नेताहरूलाई पदाधिकारी बनाउने सम्भावनासमेत रहेको चर्चा छ।
यही सन्दर्भमा उपसभापति पद बालेन समूहलाई दिने सम्भावना बलियो देखिएको छ। बालेन्द्र शाह निकट नेताहरूका अनुसार पूर्वाधारमन्त्री सुनिल लम्साल प्रमुख दाबेदारका रूपमा अगाडि छन्। गृहमन्त्री सुधन गुरुङको नाम पनि चर्चामा रहे पनि बालेन पक्षको प्राथमिकता लम्सालतर्फ नै रहेको बुझिएको छ।
महामन्त्री पदमा भने भूपदेव शाहको सम्भावना बलियो रहेको बताइन्छ। यद्यपि, उपसभापति र महामन्त्री दुवै पद एउटै समूहलाई दिने वा नदिने विषयमा अन्तिम निर्णय हुन बाँकी रहेको नेताहरू बताउँछन्।
रास्वपाका संसदीय दलका उपनेता गणेश पराजुलीले एकता र समायोजनबाट आएका नेताहरूलाई समेट्ने गरी पदाधिकारी चयन गरिने संकेत गरेका छन्। साथै, पदाधिकारीमा विभिन्न समुदायको सन्तुलित प्रतिनिधित्व सुनिश्चित गर्नु पनि नेतृत्वको जिम्मेवारी रहेको उनको भनाइ छ।
प्रवक्ता पदका लागि प्रमोद न्यौपानेको नाम अग्रपंक्तिमा रहेको चर्चा छ। महामन्त्रीमा पराजित भएका मनिष झाले प्रवक्ताको जिम्मेवारी नलिने सार्वजनिक गरिसकेपछि सभापति लामिछानेले आफ्ना विश्वासपात्र न्यौपानेलाई उक्त जिम्मेवारी दिन सक्ने अनुमान गरिएको छ।
पाँच सदस्यीय सहमहामन्त्रीमध्ये तीन जना निर्वाचित भइसकेकाले अब दुई पद मनोनयनमार्फत पूर्ति गरिनेछ। यद्यपि, ती पदमा कसलाई ल्याइने भन्ने विषयमा अहिलेसम्म कुनै स्पष्ट संकेत बाहिर आएको छैन।
कोषाध्यक्ष पदमा भने लिमा अधिकारी दोहोरिन सक्ने सम्भावना देखिएको छ। उनले नयाँ राजनीतिक जिम्मेवारीको इच्छा व्यक्त गरे पनि सभापति लामिछानेले उनलाई पुनः सोही जिम्मेवारीमा निरन्तरता दिन चाहेको स्रोतहरूको दाबी छ।
महाधिवेशनअघि नै सभापतिलाई मनोनयनको पूर्ण अधिकार दिइसकिएकाले अन्तिम निर्णय उनकै इच्छाअनुसार हुने नेताहरू बताउँछन्। मन्त्रीहरूलाई कार्यकारी पदभन्दा सचिवालय सदस्यमा सीमित राख्ने तयारी पनि गरिएको छ। यसअनुसार परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र भूमि व्यवस्थामन्त्री प्रतिभा रावललगायत नेताहरू सचिवालयमा रहने सम्भावना छ।
रास्वपाले अब बाँकी मनोनयनमार्फत पार्टीभित्रको शक्ति सन्तुलन, एकता र समावेशितालाई कसरी व्यवस्थापन गर्छ भन्ने विषयलाई राजनीतिक वृत्तले चासोका साथ हेरिरहेको छ।
क्याटेगोरी : राजनीति












प्रतिक्रिया