Techie IT
KTM Post
सोमबार, २२ असार, २०८३

सभामुखको सम्मान नगरेको भन्दै दुई मन्त्रीमाथि संसदमा प्रश्न, नियम उल्लंघनको आरोप


काठमाडौँ । प्रतिनिधिसभा बैठकका क्रममा सभामुखको सम्मान नगरेको भन्दै दुई मन्त्रीमाथि संसदमै प्रश्न उठाइएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रतिपक्षी दल नेकपा एमालेका सांसद ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्ले र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको व्यवहारप्रति आपत्ति जनाएका हुन्।

सांसद महरले प्रतिनिधिसभा नियमावली–२०८३ को नियम २० (क) अनुसार सभामुख बैठक कक्षमा प्रवेश गर्दा उपस्थित सबै सदस्यले उठेर सम्मान गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै उक्त नियमको पालना नभएको बताए।

उनका अनुसार बैठक सुरु हुनुअघि सभामुख बैठक कक्षमा प्रवेश गर्दा अधिकांश सांसद उठेर सम्मान जनाए पनि अर्थमन्त्री वाग्ले र मन्त्री लम्साल भने आफ्नै आसनमा बसेका थिए। यसलाई उनले सदनको मर्यादा र संसदीय परम्पराविपरीतको व्यवहारको रूपमा व्याख्या गरे।

“संसदको गरिमा जोगाउनु हामी सबैको साझा दायित्व हो। नियमावलीमा स्पष्ट व्यवस्था हुँदाहुँदै दुई मन्त्रीले सभामुखलाई सम्मान नगर्नु चिन्ताको विषय बनेको छ,” महरले बैठकमा भने।

संसदीय अभ्यासमा सभामुखको सम्मानलाई संस्थागत मर्यादासँग जोडेर हेरिने गरिन्छ। त्यसैले मन्त्रीहरूको उक्त व्यवहारलाई लिएर संसदभित्रै प्रश्न उठेको हो।

उल्लेखनीय रूपमा, पछिल्ला दिनमा दुवै मन्त्री विभिन्न अभिव्यक्तिका कारण विवादमा तानिँदै आएका छन्। अर्थमन्त्री स्वर्णिम वाग्लेले केही दिनअघि संसदमा बजेटमाथिको छलफलका क्रममा आफूलाई प्रश्न गर्ने सांसद तथा दलका ‘काण्ड’ समेत सार्वजनिक हुन सक्ने चेतावनी दिएपछि विपक्षी दलहरूले त्यसको विरोध गरेका थिए।

त्यसैगरी पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुंगा–मुग्लिङ सडक आयोजनाको निरीक्षणका क्रममा विद्युत् पोल स्थानान्तरणमा ढिलाइ गर्ने ठेकेदारको ‘खुट्टा भाँच्न’ निर्देशन दिएको अभिव्यक्ति दिएपछि उनको व्यापक आलोचना भइरहेको छ।

संसदभित्र र बाहिर दुवै मन्त्रीका अभिव्यक्ति र व्यवहारलाई लिएर प्रश्न उठिरहेका बेला सभामुखप्रतिको सम्मानसम्बन्धी नयाँ विवादले थप चर्चा पाएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट