Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

१५ स्थानीय तहमा डेंगु जोखिम बढ्यो, उच्च सतर्कता अपनाउन निर्देशन


काठमाडौं । देशभर डेंगु संक्रमणको जोखिम बढ्दै गएपछि १५ स्थानीय तहलाई उच्च सतर्कतामा राखिएको छ । महामारी तथा रोग नियन्त्रण महाशाखाले मार्च महिनामा पाँचभन्दा बढी संक्रमित भेटिएका आधारमा काठमाडौं महानगरसहित ती स्थानीय तहलाई विशेष सतर्कता अपनाउन निर्देशन दिएको हो ।

महाशाखाका अनुसार तापक्रम वृद्धि, प्रि–मनसुन वर्षा र खानेपानी अभावका कारण मानिसले खुला ट्यांकीमा पानी जम्मा गर्ने प्रवृत्तिले डेंगुको जोखिम बढाएको छ । यसलाई ध्यानमा राख्दै स्थानीय तहलाई ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न तथा जनचेतना फैलाउन आग्रह गरिएको छ ।

डेंगु एडिस प्रजातिका लामखुट्टेबाट सर्ने भाइरल रोग हो, जसले चिकुनगुनिया, जिका र पहेंलो ज्वरोसमेत फैलाउन सक्छ । पछिल्ला तथ्यांकअनुसार यस वर्ष जनवरीमा १४९, फेब्रुअरीमा १५५ र मार्चमा १५२ जना संक्रमित भएका छन् । यद्यपि यो संख्या गत वर्षको तुलनामा कम भए पनि जोखिम घटेको नभएको चिकित्सकहरू बताउँछन् ।

सन् २०२५ मा मात्रै करिब ९ हजार संक्रमित र ६ जनाको मृत्यु भएको थियो । डेंगु देशका ७६ जिल्लामा फैलिसकेको छ । विशेषज्ञका अनुसार जलवायु परिवर्तनका कारण पहाडी तथा हिमाली क्षेत्रमा समेत लामखुट्टे बाँच्न सक्ने अवस्था बनेको छ ।

डेंगुबाट जोगिन सफा पानी जम्न नदिने, ट्यांकी ढाक्ने र सरसफाइमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।


क्याटेगोरी : स्वास्थ्य/जीवन शैली

प्रतिक्रिया


ताजा अपडेट