Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

नेपालमा नसर्ने रोगबाट मृत्यु बढ्दो, सन् २०३० सम्म ७९ प्रतिशत पुग्ने प्रक्षेपण


काठमाडौं । नेपालमा नसर्ने रोगका कारण हुने मृत्युको दर चिन्ताजनक रूपमा बढ्दै गएको पाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशमा हुने कुल मृत्युमध्ये झन्डै ७१ प्रतिशत हिस्सा नसर्ने रोगको रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्म यो दर बढेर ७९ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरेको छ ।

मन्त्रालयका अनुसार नसर्ने रोगका कारण ३० देखि ७० वर्ष उमेर समूहका करिब २२ प्रतिशत मानिस अकाल मृत्युको जोखिममा पर्ने गरेका छन् । उच्च रक्तचाप, मधुमेह, क्यान्सर, मुटु रोग तथा श्वासप्रश्वाससम्बन्धी रोगहरू नेपालमा मृत्युका प्रमुख कारण बन्दै गएका छन् । बदलिँदो जीवनशैली, अस्वस्थ खानपान, शारीरिक गतिविधिको कमी र तनावजस्ता कारणले यस्ता रोगको जोखिम बढिरहेको स्वास्थ्य विज्ञहरू बताउँछन् ।

नसर्ने रोग नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउन नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य सेवा विभागसँगको सहकार्यमा ‘पेन–डी प्याकेज’ नामक नयाँ कार्यढाँचा विकास गरेको छ । विशेषगरी भूकम्प, बाढी, पहिरोजस्ता विपद्को समयमा पनि दीर्घरोगी बिरामीले निरन्तर उपचार सेवा पाउन सकून् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो ।

प्याकेजअन्तर्गत उच्च जोखिममा रहेका बिरामीको पहिचान, आवश्यक औषधिको पूर्वभण्डारण, मोबाइल स्वास्थ्य सेवा सञ्चालन, टेलिमेडिसिन सेवा विस्तार तथा सामुदायिक स्वास्थ्यकर्मी परिचालनजस्ता व्यवस्था समावेश गरिएको छ ।

यो कार्यक्रम कैलालीको भजनी नगरपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिका मा परीक्षणका रूपमा सञ्चालन गरिसकिएको छ । प्रारम्भिक रूपमा सकारात्मक नतिजा देखिएपछि स्वास्थ्य विज्ञहरूले यसलाई राष्ट्रिय स्वास्थ्य प्रणालीभित्र समावेश गरी देशभरका पालिकामा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

 


क्याटेगोरी : स्वास्थ्य/जीवन शैली

प्रतिक्रिया


ताजा अपडेट