भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प: राजधानी काराकाससहित विभिन्न सहरमा ठूलो विनाश
काठमाडाैं। दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा बुधबार साँझ भीषण प्राकृतिक विपत्ति आइलागेको छ। देशको इतिहासकै विनाशकारी मानिएको यस विपत्तिमा केही सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका दुईवटा शक्तिशाली भूकम्प गएका छन्।
लगातारको तीव्र कम्पनका कारण राजधानी काराकाससहित देशका विभिन्न क्षेत्रमा रहेका गगनचुम्बी भवन, व्यावसायिक मल र आवासीय घरहरू भत्किएका छन्। भूकम्पको केन्द्रविन्दु र आसपासका क्षेत्रमा भौतिक विनाशको स्तर अत्यधिक उच्च रहेकाले ठूलो संख्यामा मानवीय क्षति भएको अनुमान गरिएको छ।
४० सेकेन्डको अन्तरमा दुई महाकम्पन
अमेरिकी भूगर्भ सर्वेक्षण का अनुसार पहिलो भूकम्प गएको करिब ४० सेकेन्डभित्रै त्योभन्दा अझ बढी तीव्रताको दोस्रो घातक भूकम्प गएको थियो। यी दुवै भूकम्पको केन्द्रविन्दु राजधानी काराकासको पश्चिमतर्फ रहेको जमिनमुनिको क्षेत्रमा रेकर्ड गरिएको छ।
भूकम्प स्थानीय समयअनुसार साँझ ६:०४ बजे गएको थियो। संयोगवश, त्यस दिन भेनेजुएलामा राष्ट्रिय बिदा परेका कारण अधिकांश नागरिकहरू घरभित्रै आराम गरिरहेका बेला भूकम्प गएकाले पनि संरचना भत्किँदा मानिसहरू भित्रै थुनिएको र क्षति बढ्न सक्ने अनुमान गरिएको छ।
१० हजारभन्दा बढीको मृत्यु हुन सक्ने प्रारम्भिक प्रक्षेपण
भूकम्प लगत्तै राजधानी काराकाससहितका सहरहरूमा हजारौँ मानिस त्रसित हुँदै घर र कार्यालयबाट बाहिर निस्केर खुल्ला सडक तथा पार्कहरूमा जम्मा भएका थिए।भेनेजुएलाका गृहमन्त्री डियोस्दादो काबेलोले देशका कयौँ भौतिक संरचना र ऐतिहासिक भवनहरू भत्किएको पुष्टि गर्दै नागरिकहरूलाई तत्काल पराकम्पनको जोखिम कायमै रहेकाले सावधानी अपनाउन र घरबाहिरै सुरक्षित स्थानमा बस्न अपिल गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार, भूकम्पको प्रकृति र संरचनात्मक क्षतिलाई हेरेर गरिएको प्रारम्भिक वैज्ञानिक मूल्यांकनले मृतकको संख्या १० हजारभन्दा बढी पुग्न सक्ने सम्भावना ४४ प्रतिशत देखाएको छ, यद्यपि भग्नावशेष हटाउने र विस्तृत विवरण संकलन गर्ने काम जारी रहेकाले आधिकारिक तथ्यांक आउन बाँकी छ।
छिमेकी देश कोलम्बियासम्म धक्का, उद्धारकार्य तीव्र
यो भूकम्प यति शक्तिशाली थियो कि यसको धक्का भेनेजुएलाको आन्तरिक भूभागमा मात्र सीमित रहेन। छिमेकी मुलुक कोलम्बियाको राजधानी बोगोटासम्म पनि यसको कडा कम्पन महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।हाल भूकम्प प्रभावित क्षेत्रहरूमा विद्युत्, सञ्चार र यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ। भेनेजुएलाका सुरक्षा निकाय, रेडक्रस र स्थानीय उद्धार टोलीहरू भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी र उद्धारमा युद्धस्तरमा खटिएका छन्।
अन्तर्राष्ट्रिय समुदायले पनि भेनेजुएलालाई आवश्यक मानवीय र प्राविधिक सहयोग उपलब्ध गराउन तत्परता देखाएका छन्।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया