Techie IT
KTM Post
शनिबार, २३ जेठ, २०८३

ड्रोन आक्रमणको आशंकापछि ओमानको प्रमुख तेल टर्मिनलमा कच्चा तेल लोडिङ रोकियो


काठमाडौं । ओमानको प्रमुख तेल निर्यात केन्द्र ‘मिना अल फहल’ आयल टर्मिनलमा भएको विष्फोटपछि कच्चा तेलको लोडिङ अस्थायी रूपमा स्थगित गरिएको छ। प्रारम्भिक जानकारीअनुसार विष्फोट टर्मिनलको सिंगल ब्वाय मुअरिङ (एसबीएम) बर्थ नजिकै भएको र यसको कारण ड्रोन आक्रमण हुन सक्ने आशंका गरिएको छ।

घटना कहिले भएको हो भन्ने विषयमा स्पष्ट विवरण सार्वजनिक भइसकेको छैन। तर एलएसईजीको ढुवानी तथ्यांकअनुसार शुक्रबार टर्मिनल बाहिर धेरै सुपरट्याङ्करहरू लङ्गर खसालेर प्रतीक्षारत अवस्थामा देखिएका थिए।

विष्फोट एसबीएम–१ र एसबीएम–२ बर्थको बीच क्षेत्रमा भएको थियो। स्रोतहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यसलाई सम्भावित ड्रोन आक्रमणको परिणाम बताएका छन्।

यद्यपि, ओमान सरकारले घटनाबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। कार्यालय समय बाहिर भएकाले टर्मिनल व्यवस्थापनसँग तत्काल सम्पर्क हुन नसकेको रोयटर्सले जनाएको छ।

यसैबीच, इरानी सरकारी सञ्चारमाध्यमले बुधबार ओमानको खाडी क्षेत्रमा इरानी जलक्षेत्रतर्फ गइरहेको अमेरिकी सैन्य जहाजलाई लक्षित गरिएको दाबी गरेका थिए। उक्त जहाजमा नियन्त्रण तथा कमाण्ड सेन्टर रहेको भनिए पनि अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले भने यस्तो दाबीलाई अस्वीकार गरेको छ।

घटनाले क्षेत्रीय सुरक्षा अवस्था तथा ऊर्जा आपूर्ति व्यवस्थाप्रति थप चासो र चिन्ता बढाएको छ।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट