भुस्याहा कुकुरका लागि २ देशबीच भिडन्त
ब्रासिलिया । ब्राजिल र मेक्सिकोबीच यतिबेला ‘क्यारामेलो’ नाम गरेको एउटा खैरो रङको भुस्याहा कुकुरलाई लिएर अनौठो विवाद सुरु भएको छ। ब्राजिलियन नागरिकहरू यस कुकुरलाई आफ्नो देशको मौलिक पहिचान मान्दछन्। उनीहरूका अनुसार ब्राजिलमा क्यारामेलोको महत्त्व त्यहाँको फुटबल र साम्बा सङ्गीत जत्तिकै विशिष्ट रहेको छ।
यो विवाद त्यतिबेला सुरु भयो जब मेक्सिकोले यसै वर्षको अप्रिल महिनामा क्यारामेलोलाई आफ्नो स्थानीय प्रजाति घोषणा गरिदियो। मेक्सिकोको यस निर्णयले ब्राजिलमा तीव्र आक्रोश पैदा गरेको छ। धेरै ब्राजिलियनहरूलाई आफ्नो सांस्कृतिक पहिचानको एउटा महत्वपूर्ण हिस्सा खोसिएको अनुभूति भएको छ।
वैज्ञानिक दृष्टिकोणले हेर्दा क्यारामेलो कुनै एउटा मात्र शुद्ध प्रजातिको कुकुर होइन। ब्राजिलको जेनेटिक्स कम्पनी ‘डीएनए पेट्स’ को अध्ययन अनुसार, यो ३०० भन्दा बढी विदेशी प्रजातिका कुकुरहरूको सम्मिश्रणबाट बनेको हो। यो कुनै निश्चित समयमा विकसित गरिएको प्रजाति नभई विभिन्न पुस्ताहरूमा सयौँ नस्लहरूको प्राकृतिक मिश्रणबाट बनेको कुकुर हो।
पुर्तगाली भाषाको ‘क्यारामेलो’ शब्दको अर्थ क्यारामेल वा टफी जस्तो हल्का खैरो रङ भन्ने हुन्छ र यही विशेष रङका कारण ब्राजिलमा यस्ता कुकुरहरूलाई क्यारामेलो भनिएको हो। ब्राजिलमा यी कुकुरहरूको लोकप्रियता यति उच्च छ कि यिनीहरूमाथि अनेकौँ मिमहरू बन्ने गर्छन्, टिसर्टहरू छापिन्छन्, भाइरल गीतहरू बनाइन्छन् र कार्निभल परेडहरूमा यिनीहरूको सम्मानमा झाँकी समेत निकालिन्छ।
सन् २०१९ मा यो कुकुर सामाजिक सञ्जालमा भाइरल भएपछि मानिसहरूले ब्राजिलको १० रियासको नोटमा रहेको चराको तस्बिर हटाएर क्यारामेलोको तस्बिर राख्न माग गर्दै एउटा याचिका नै दर्ता गराएका थिए, जसमा करिब ५० हजार मानिसले हस्ताक्षर गरेका थिए।
त्यसपछि सन् २०२३ मा ब्राजिलका सांसदहरूले क्यारामेलो सडक कुकुरहरूलाई राष्ट्रिय सम्पदा घोषणा गर्न माग गर्दै एउटा विधेयक समेत पेश गरेका थिए, यद्यपि यो कानुन अहिलेसम्म पास हुन सकेको छैन। तर, साओ पाउलो लगायतका केही राज्यहरूले आफ्नै स्तरमा यसलाई सांस्कृतिक विरासतको दर्जा दिने कानुन बनाएका छन्।
शोधका अनुसार क्यारामेलोको इतिहास पुर्तगाली उपनिवेशवादीहरूले ब्राजिल ल्याएका कुकुरहरूसँग जोडिन्छ। पछि इटाली, जर्मनी, स्पेन र जापानबाट आएका आप्रवासीहरूले पनि विभिन्न प्रजातिका कुकुरहरू साथमा ल्याए।
सन् १९३० देखि १९७० को बीचमा ब्राजिलमा औद्योगीकरण बढेसँगै ग्रामीण क्षेत्रका मानिसहरू शहर आउँदा खेत र पशुहरूको रखवाली गर्ने कुकुरहरू पनि साथमै ल्याए र शहरमा पहिलेदेखि रहेका साना घरपालुवा कुकुरहरूसँगको संसर्ग र कयौँ पुस्ताको अनियन्त्रित प्रजननपछि आजको क्यारामेलो अस्तित्वमा आएको हो।
अर्कोतर्फ, मेक्सिकोको पर्यावरण अभियोजक कार्यालयले भुस्याहा कुकुरहरूप्रति मानिसहरूको नकारात्मक सोच बदल्ने उद्देश्यले यसलाई मेक्सिकन प्रजाति घोषणा गरेको स्पष्ट पारेको छ। मेक्सिकोको पशु कल्याण संस्थासँग आबद्ध क्लाउडिया एड्वर्ड्सका अनुसार दुवै देशको मिल्दोजुल्दो इतिहास र मौसमका कारण मेक्सिकोमा पनि यस्ता खैरो कुकुरहरू ठूलो संख्यामा पाइन्छन्। ब्राजिलले यसलाई पहिलो पहिचान दिएको स्वीकार गर्दै उनले क्यारामेलो कुनै एउटा देशको मात्र नभई सम्पूर्ण ल्याटिन अमेरिकाको साझा धरोहर भएको बताएकी छिन्।
विशेषज्ञहरूका अनुसार क्यारामेलोको छोटो र हल्का खैरो भुत्लाले यिनीहरूलाई तातो मौसममा अनुकूल रहन मद्दत गर्दछ, जसका कारण शरीरमा किराहरू कम लाग्छन् र कडा घाममा पनि सहजै बस्न सक्छन्। मिश्रित नस्ल भएका कारण यिनीहरूमा जन्मजात रोगहरूको खतरा कम हुनुका साथै परिस्थिति अनुसार आफूलाई ढाल्न सक्ने बलियो क्षमता हुन्छ।
यति लोकप्रिय हुँदाहुँदै पनि ब्राजिलमा अझै ठूलो संख्यामा यी कुकुरहरू सेल्टर होमहरूमा रहेका छन् र मानिसहरूले यिनीहरूलाई सहजै पाल्नका लागि रोज्ने गरेका छैनन्। ‘अम्पारा’ नामक एउटा पशु कल्याण संस्थाको ग्लोबल स्टडी अनुसार ब्राजिलमा २ करोडभन्दा बढी भुस्याहा कुकुरहरू छन्, जसमध्ये ९० प्रतिशतभन्दा बढी क्यारामेलो नै हुन्। ब्राजिल र मेक्सिको दुवै देशले यस कुकुरलाई आधिकारिक पहिचान दिएमा आगामी दिनमा धेरै मानिसहरूले यसलाई पाल्नका लागि अघि सर्ने विश्वास लिइएको छ।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया