Techie IT
KTM Post
शुक्रबार, २२ जेठ, २०८३

उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार


उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई अझ तीव्र बनाउने सङ्केत स्वरूप आणविक बमका लागि इन्धन उत्पादन गर्ने नयाँ संयन्त्र सार्वजनिक गरेको छ ।

नेता किम जोङ उनले देशको आणविक शक्तिलाई तीव्र गतिमा विस्तार गर्ने लक्ष्य दोहोर्‍याउनुभएको राज्य सञ्चालित सञ्चारमाध्यमले सार्वजनिक गरेका विवरणहरूलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ । यसले कोरियाली प्रायद्वीपमा सुरक्षा चिन्तालाई थप बढाएको खबरमा उल्लेख छ ।

राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्वीरहरूमा हतियार–स्तरको युरेनियम उत्पादनका लागि प्रयोग हुने सेन्ट्रिफ्युजहरूले भरिएको ठूलो हल देखिन्छ जसले उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार भइरहेको सङ्केत दिन्छ ।

नयाँ संयन्त्रको सार्वजनिकसँगै किमले पछिल्ला वर्षहरूदेखि अघि बढाउँदै आएको आणविक हतियार कार्यक्रम विस्तार गर्ने नीतिलाई थप स्पष्ट पारे । उनले अमेरिका नेतृत्वको सुरक्षा चुनौती र सैन्य दबावलाई उत्तर कोरियाले आफ्नो आणविक क्षमता बढाउनुको मुख्य कारणका रूपमा प्रस्तुत गर्दै आएका छन् ।

केसीएनएका अनुसार किमले हिजो आणविक केन्द्रको भ्रमण गरी सञ्चालन अवस्था र दीर्घकालीन उत्पादन योजनाबारे जानकारी लिएका थिए । भ्रमणका क्रममा उनले देशको आणविक प्रतिरोध क्षमता गुणस्तर र परिमाण दुवै हिसाबले अझ सुदृढ बनाउनुपर्ने आवश्यकता अझ बढ्दै गएको बताएका थिए ।

केसीएनएले उत्तर कोरियाको हतियार–स्तरको आणविक सामग्री उत्पादन क्षमता ५ वर्षअघिको तुलनामा दोब्बरभन्दा धेरै पुगेको दाबी गरेको छ । यद्यपि यो दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । त्यसैगरी किम र अन्य वरिष्ठ अधिकारीहरूले देशको आणविक क्षमता उल्लेखनीय रूपमा बढाउने दीर्घकालीन महत्त्वाकाङ्क्षी योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको पनि केसीएनएले जनाएको छ ।

उत्तर कोरियाले सन् २०१७ यता कुनै आणविक परीक्षण नगरे पनि पछिल्ला वर्षहरूमा आणविक हतियार बोक्न सक्ने विभिन्न प्रकारका क्षेप्यास्त्रहरूको विकास र परीक्षणलाई तीव्रता दिएको छ । तीमध्ये केही मिसाइलहरू एशियामा रहेको अमेरिकी सहयोगी राष्ट्रहरू मात्र नभई अमेरिकी मुख्य भूमिसम्म पुग्न सक्ने क्षमताका रहेको दाबी गरिएको छ । साथै किमले आणविक हतियारको मौज्दात बढाउन निरन्तर जोड दिँदै आएका छन् ।

आणविक हतियार निर्माणका लागि अत्यधिक संवर्धित युरेनियम वा प्लुटोनियम आवश्यक पर्छ । उत्तर कोरियासँग योङब्योन आणविक परिसरमा यी दुवै प्रकारका सामग्री उत्पादन गर्ने क्षमता रहेको मानिन्छ ।

विश्लेषकहरूका अनुसार सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीचको उच्चस्तरीय आणविक कूटनीति विफल भएपछि उत्तर कोरिया वार्ताभन्दा आफ्नो आणविक क्षमता विस्तार र आधुनिकीकरणमा बढी केन्द्रित भएको छ । त्यसयता अमेरिकाले वार्ता पुनः शुरू गर्ने प्रयास गरे पनि किमले त्यस्ता प्रस्तावहरू अस्वीकार गर्दै आएका छन् ।

 


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट