झुटो यौन उत्पीडन आरोपको स्वीकारोक्तिपछि शिल्पा शिन्दे विवादमा, कानुनी कारबाहीको माग
काठमाडौं । टेलिभिजन अभिनेत्री शिल्पा शिन्देले चर्चित धारावाहिक ‘भाभीजी घर पर हैं’ का निर्मातामाथि आफूले यौन उत्पीडनको झुटो आरोप लगाएको स्वीकार गरेपछि नयाँ विवादमा तानिएकी छन्। उनको उक्त अभिव्यक्तिप्रति ‘अल इन्डिया सिने वर्कर्स एसोसिएसन’ले कडा आपत्ति जनाउँदै कानुनी कारबाहीको माग गरेको छ।
कमेडियन भारती सिंह र हर्ष लिम्बाचियाको पडकास्ट कार्यक्रममा बोल्दै शिल्पाले विगतमा लगाएको यौन उत्पीडनको आरोप सत्य नभएको स्वीकार गरेकी थिइन्। उक्त बयान सार्वजनिक भएसँगै सामाजिक सञ्जालदेखि मनोरञ्जन क्षेत्रमा व्यापक बहस सुरु भएको छ।
यसैबीच, एसोसिएसनले आधिकारिक विज्ञप्ति जारी गर्दै शिल्पाको स्वीकारोक्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। संस्थाले यस्ता झुटा आरोपले निर्दोष व्यक्तिको प्रतिष्ठा, परिवार, करियर तथा मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पार्ने उल्लेख गरेको छ।
संस्थाले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसलाई घटनाको निष्पक्ष छानबिन गराउन र यदि नियतवश झुटो आरोप लगाइएको प्रमाणित भए कानुनअनुसार कडा कारबाही गर्न आग्रह गरेको छ।
एसोसिएसनका अनुसार चर्चित व्यक्तिहरूले व्यक्तिगत लाभका लागि झुटा आरोप लगाउँदा वास्तविक पीडितहरूको आवाज कमजोर बन्ने र न्यायको खोजीमा रहेका व्यक्तिहरूप्रति समाजको विश्वास घट्ने जोखिम बढ्छ। यस्तो प्रवृत्तिले फिल्म तथा मनोरञ्जन क्षेत्रमा वास्तविक उत्पीडनका घटनाहरू उजागर गर्नसमेत कठिनाइ सिर्जना गर्न सक्ने संस्थाको भनाइ छ।
उता, सामाजिक सञ्जालमा बढ्दो आलोचनाबीच शिल्पा शिन्देले भिडियो सन्देशमार्फत आफ्ना आलोचकहरूलाई जवाफ दिएकी छन्। यद्यपि, उनको अभिव्यक्तिलाई लिएर उठेको विवाद भने अझै साम्य भएको छैन।
सन् २०१६ मा निर्मातामाथि लगाएकी थिइन् गम्भीर आरोप
शिल्पा शिन्देले सन् २०१५ मा प्रसारण भएको चर्चित टिभी शो ‘भाभीजी घर पर हैं’ मा ‘अङ्गुरी भाभी’ को भूमिका निर्वाह गरेकी थिइन्, जसलाई दर्शकले निकै रुचाएका थिए। तर, एक वर्षपछि अर्थात् सन् २०१६ मा उनले सोका निर्माता र मेकरहरूविरुद्ध यौन उत्पीडनको उजुरी दर्ता गराउँदै एक्कासि शो छोडेकी थिइन्।
हालैको पडकास्टमा त्यही पुराना घटनाको भित्री रहस्य खोल्दै शिल्पाले भनेकी छन्, ‘यो कुरा अहिलेसम्म कसैलाई थाहा थिएन। म अब सत्य बोल्न डराउँदिनँ। मैले मेरा निर्माताविरुद्ध यौन उत्पीडनको मुद्दा दर्ता गराएकी थिएँ किनभने मसँग त्यतिबेला अर्को कुनै विकल्प बाँकी थिएन। सम्झौताको विवाद सुल्झाउनका लागि मैले त्यसो गरेकी थिएँ र पछि आपसी सहमति गरेर म त्यो अवस्थाबाट बाहिर निस्किएँ।’
आफू कानुनको पृष्ठभूमिबाट आएको दाबी गर्दै शिल्पाले प्रहरीले नै एफआईआर दर्ता गर्नका लागि गम्भीर आरोपहरू लेख्नुपर्ने सल्लाह दिएका कारण आफूले त्यस्तो कदम चालेको दाबी गरेकी छन्।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया