Techie IT
KTM Post
सोमबार, १ असार, २०८३

अमेरिकामा विमान दुर्घटना: चालक दलसहित सबैको मृत्यु, परिवारकै अगाडि खस्यो विमान


काठमाडौं । अमेरिकाको मध्य-पश्चिमी राज्य मिसौरीमा स्काईडाइभिङ का लागि उडेको एउटा सानो निजी विमान भीषण दुर्घटनामा परेको छ। मिसौरीको बट्स काउन्टीस्थित ‘बट्लर मेमोरियल विमानस्थल’ बाट उडान भर्ने बित्तिकै भएको यस दुर्घटनामा विमानमा सवार पाइलट र ११ जना यात्रीसहित सबै १२ जनाको घटनास्थलमै मृत्यु भएको छ।

आकास खुल्नुका साथै मौसम सफा रहेको आइतबार दिउँसो भएको यस भयानक दुर्घटनालाई विमानस्थलमै रहेका केही स्काईडाइभरका परिवारका सदस्यहरूले आफ्नै आँखा अगाडि देखेका थिए।

स्थानीय अधिकारीहरूका अनुसार घटना आइतबार बिहान ११:३० बजे (स्थानीय समय) तिर भएको हो। ‘स्काईडाइभ कन्सस सिटी’ नामक निजी एजेन्सीद्वारा सञ्चालित एकल इन्जिन भएको ‘प्यासिफिक एरोस्पेस ७५०एक्सएल’ विमानले उडान भरेर देब्रेतिर मोडिने बित्तिकै नियन्त्रण गुमाएको थियो।

बट्लर आपतकालीन व्यवस्थापन निकायका निर्देशक डेनिस ज्याकोब्सका अनुसार विमानले उडान भर्नासाथ आफ्नो शक्ति गुमाएको संकेत मिलेको थियो। पाइलटले विमानलाई नजिकैको मुख्य राजमार्गमा सुरक्षित अवतरण गराउने प्रयास गरिरहेका थिए, तर अचानक विमान ‘स्टाल’ भएर सिधै भुइँमा नाकको बलले बजारिन पुग्यो र तुरुन्तै आगोको गोलामा परिणत भयो।

दुर्घटना लगत्तै घटनास्थलमा पुगेका अग्निनियन्त्रक र उद्धारकर्मीहरूले केही बेरमै आगोलाई नियन्त्रणमा लिएका थिए, तर विमानभित्र रहेका कसैलाई पनि बचाउन सम्भव भएन। अधिकारीहरूले घटनास्थललाई “अत्यन्तै क्रुर र विभत्स” भनी वर्णन गरेका छन्। बट्स काउन्टीका शेरीफ च्याड एन्डरसनले भने, “यो एउटा ठुलो पारिवारिक र साहसिक उत्सव हुनुपर्ने थियो, तर कतिपय यात्रीका परिवारका सदस्यहरूले आफ्नै आँखै अगाडि विमान खसेको देख्नुपर्यो। यो निकै हृदयविदारक छ।”

विमान खस्नुअघि कसैले आकासबाट हाम्फालेर ज्यान जोगाउने प्रयास गरे कि भनी उडान मार्गको तल्लो क्षेत्रमा खोजी गरिए पनि त्यस्तो कोही फेला परेन। दुर्घटनामा ज्यान गुमाउनेहरूको पहिचान खुलाउन र उनका परिवारलाई आधिकारिक जानकारी दिन स्थानीय प्रशासन र स्वयंसेवकहरू खटिएका छन्।

दुर्घटना लगत्तै अमेरिकाको संघीय उड्डयन प्रशासन र राष्ट्रिय यातायात सुरक्षा बोर्डका कडा टोलीहरू अनुसन्धानका लागि घटनास्थल पुगिसकेका छन्। दुर्घटनाग्रस्त विमान न्यूजील्याण्डको कम्पनीले सन् २०१० मा निर्माण गरेको र स्काईडाइभिङका लागि निकै चल्तीको मोडल मानिन्थ्यो। डिजिटल फ्लाइट ट्र्याकिङ कम्पनी ‘फ्लाइटअवेयर’ का अनुसार उक्त विमानले आइतबार दुर्घटना हुनुअघि दुईवटा र अघिल्ला दिनहरूमा कैयौँ सफल उडानहरू गरिसकेको थियो।

उड्डयन सुरक्षा विज्ञ जेफ गुज्जेटीका अनुसार अमेरिकामा स्काईडाइभिङ कम्पनीहरूलाई व्यावसायिक एयरलाइन्स वा चार्टर विमान जस्तो कडा सुरक्षा र मर्मतसम्भारको नियम लागू हुँदैन, उनीहरू सामान्य निजी विमानको नियम अन्तर्गत चल्ने भएकाले कतिपय अवस्थामा कमजोर मर्मतसम्भार दुर्घटनाको कारण बन्ने गरेको छ। एनटीएसबीले विमानको भग्नावशेष नियन्त्रणमा लिएर इन्जिन फेल हुनुको मुख्य प्राविधिक कारणबारे विस्तृत अनुसन्धान सुरु गरेको छ।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट