संसद् भवन निर्माणमा भएको ढिलाइप्रति सभामुखको चेतावनी : ‘अब हरेक दिन एक करोड जरिवाना तिराइन्छ’
काठमाडौं । सभामुख डीपी अर्यालले सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् हलको स्थलगत निरीक्षण गर्दै निर्माण कार्यमा भएको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
संसद् सचिवालयका कर्मचारीसहित निर्माणस्थल पुगेका सभामुख अर्यालले निर्धारित समयभित्र काम सम्पन्न हुन नसकेको भन्दै निर्माण पक्षसँग जवाफदेहिता माग गरेका हुन्। उनले संसद् हल सञ्चालनमा आउने यकिन मिति तत्काल उपलब्ध गराउन समेत निर्देशन दिएका छन्।
गत जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट नयाँ संसद् भवनबाट प्रस्तुत गर्ने तयारी गरिए पनि निर्माण कार्य सम्पन्न हुन नसकेपछि उक्त योजना कार्यान्वयन हुन सकेको थिएन।
निरीक्षणका क्रममा सभामुख अर्यालले निर्माण कार्यमा थप ढिलाइ भए दैनिक एक करोड रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्। उनले सहरी विकास मन्त्रालय र सम्बन्धित निकायलाई निर्माण कार्य शीघ्र सम्पन्न गर्न आवश्यक समन्वय र पहल गर्न निर्देशनसमेत दिएका छन्।
सभामुख अर्यालले निर्माण कम्पनीलाई समयमै प्रतिबद्धता पूरा गर्न आग्रह गर्दै राष्ट्रिय महत्वको परियोजनामा ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पारे। उनले निर्माण कार्यमा देखिएका समस्या तत्काल समाधान गरी निर्धारित समयसीमाभित्र भवन हस्तान्तरण गर्नुपर्नेमा जोड दिए।
नयाँ संसद् भवन निर्माणको समयसीमा पटक–पटक सर्दै आएको अवस्थामा यसको प्रगति र व्यवस्थापनलाई लिएर सार्वजनिक रूपमा समेत प्रश्न उठ्दै आएका छन्।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया