Techie IT
KTM Post
सोमबार, २२ असार, २०८३

आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन रास्वपाको निर्देशन


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन पार्टीका सदस्य तथा आकांक्षीहरूलाई निर्देशन दिएको छ।

बिहीबार बनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले महाधिवेशनअघि विभिन्न पदका लागि दाबी गर्ने र अत्यधिक प्रचारप्रसार गर्ने प्रवृत्ति देखिएको निष्कर्ष निकाल्दै सबैलाई पार्टीको आचारसंहिता र संगठनात्मक अनुशासनभित्र रहेर अघि बढ्न आग्रह गरेको हो।

पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठकले महाधिवेशनलाई स्वस्थ, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सदस्यहरूबीच कुनै प्रकारको मतभेद वा विभाजन सिर्जना हुन नदिन विशेष ध्यान दिनुपर्ने निर्णय गरेको छ।

बैठकले महाधिवेशनको निर्वाचन प्रक्रिया विद्युतीय मतदान प्रणालीमार्फत सम्पन्न गर्ने तयारीलाई समेत अगाडि बढाएको जनाएको छ। निर्वाचन तालिका र आवश्यक प्राविधिक व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको पार्टीको भनाइ छ।

सचिवालय बैठकमा विधान संशोधनसम्बन्धी प्रस्तावमाथि समेत छलफल भएको छ। छलफलका क्रममा केन्द्रीय समितिको आकार १५१ सदस्यीय बनाउने तथा प्रदेश समिति सभापतिहरूलाई पदेन सदस्यका रूपमा समावेश गर्ने विषयमा सहमति जुट्दै गएको जानकारी दिइएको छ।

त्यस्तै, महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूले अनिवार्य रूपमा आफ्नो लेवी बुझाएको हुनुपर्ने निर्णय पनि गरिएको छ। लेवी नतिरेका प्रतिनिधिलाई महाधिवेशन प्रवेशमा रोक लगाइने पार्टीले जनाएको छ।

महामन्त्री बुर्लाकोटीका अनुसार महाधिवेशनमा करिब २ हजार ५ सयदेखि ३ हजारसम्म प्रतिनिधिहरू सहभागी हुने अनुमान गरिएको छ। साथै, प्रत्येक जिल्लाबाट एक जना तथा प्रदेश समितिबाट तोकिएका संख्यामा पर्यवेक्षक सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

रास्वपाले महाधिवेशन उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई शुभकामना मन्तव्यका लागि निमन्त्रणा पठाइसकेको जनाएको छ।

बैठकले सातै प्रदेशको अधिवेशनको समीक्षा गर्दै मधेश प्रदेशबाहेक अन्य प्रदेशमा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ। महाधिवेशन तयारीका लागि गठित उपसमितिहरूले असार ६ गते साँझसम्म सबै तयारी पूरा गर्ने प्रतिबद्धता जनाएको पार्टीले जनाएको छ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुँदैछ। महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट