महाधिवेशन केन्द्रित रास्वपामा युवा पुस्ताको सक्रियता, चार जनाको उम्मेदवारी घोषणा
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशनमा चार युवा नेताले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
युवा नेतृ पवित्रा थापा ले गण्डकी भूगोल महिलातर्फबाट, अशोक खड्काथोकी ले खुला समावेशीतर्फबाट, अशोक खड्का ले गण्डकी भूगोल पुरुषतर्फबाट तथा बोधराज रेग्मी ले खुला पुरुषतर्फबाट केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्ने तयारी गरेका हुन्।
पवित्रा थापा विगत एक दशकदेखि राजनीति र समाजसेवामा सक्रिय रहँदै आएकी छन्। महिला सशक्तीकरण, सामाजिक नेतृत्व विकास तथा जनसरोकारका विषयमा उनको सक्रिय भूमिका रहेको बताइएको छ।
अशोक खड्काथोकी रास्वपा गण्डकी प्रदेशका संस्थापक महामन्त्री हुन्। संगठन निर्माण, वैकल्पिक राजनीतिको अभियान तथा पार्टी सुदृढीकरणमा उनी लामो समयदेखि सक्रिय छन्।
त्यस्तै, अशोक खड्का पार्टीको अभियान तथा प्रचारप्रसार विभागका केन्द्रीय सदस्यका रूपमा कार्यरत छन्। संगठन विस्तार र पार्टीका अभियानलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्याउन उनले भूमिका निर्वाह गर्दै आएका छन्।
बोधराज रेग्मी रास्वपा गण्डकी प्रदेशका संस्थापक प्रवक्ता हुन्। पार्टी स्थापनाकालदेखि संगठन निर्माण, वैचारिक अभिमुखीकरण तथा जनतासँग पार्टीको सम्बन्ध विस्तारमा उनको सक्रिय योगदान रहेको छ।
चारै उम्मेदवारले आगामी कार्यकालमा पार्टीलाई थप सशक्त, व्यवस्थित र जनउत्तरदायी बनाउन केन्द्रीय नेतृत्वमा भूमिका निर्वाह गर्ने प्रतिबद्धतासहित उम्मेदवारी दिने तयारी गरेका छन्।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया