रास्वपाको प्रथम महाधिवेशन: प्राविधिक ढिलाइपछि आजबाट बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने बन्दसत्र प्राविधिक तयारी अपुग भएपछि एक दिन पछि सारिएको छ। सोमबार सुरु हुने तय भएको बन्दसत्र अब मंगलबारदेखि औपचारिक रूपमा सञ्चालन हुँदैछ।महाधिवेशन प्रतिनिधिहरूको नामावली प्रमाणीकरण तथा परिचयपत्र छपाइ कार्य समयमै सम्पन्न हुन नसकेपछि बन्दसत्र स्थगित गरिएको पार्टीले जनाएको छ। बन्दसत्रलाई व्यवस्थित बनाउन मंगलबार बिहान ७ बजेदेखि प्रतिनिधिहरूलाई परिचयपत्र वितरण कार्य सुरु गरिएको छ।
रास्वपाका प्रवक्ता मनिष झाले महाधिवेशन पार्टीको सर्वोच्च निर्णय गर्ने निकाय भएकाले कुनै पनि प्रकारको प्राविधिक त्रुटि वा विवादबाट बच्न आवश्यक तयारी पूरा गरेर मात्र बन्दसत्र अगाडि बढाउने निर्णय गरिएको बताए।उनका अनुसार सोमबार साँझदेखि नै परिचयपत्र वितरणको अन्तिम तयारी गरिएको थियो भने रातभर छापिएका परिचयपत्रहरू मंगलबार बिहानदेखि सातै प्रदेश, समायोजन तथा प्रवास समितिका छुट्टाछुट्टै काउन्टरमार्फत वितरण भइरहेको छ।
परिचयपत्र वितरण कार्य सम्पन्न भएपछि पूर्वनिर्धारित कार्यतालिका अनुसार बन्दसत्रका कार्यक्रम अगाडि बढाइनेछन्। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुवात अनुशासन आयोगका प्रमुख रमाकान्त रिमालले आयोगको प्रतिवेदन प्रस्तुत गरेर हुनेछ। उक्त प्रतिवेदनमाथि प्रतिनिधिहरूबीच छलफल गरी अनुमोदन गरिनेछ।त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। आर्थिक प्रतिवेदनमाथिको छलफल सम्पन्न भएपछि महामन्त्री बुर्लाकोटीले पार्टीको सांगठनिक प्रतिवेदन बन्दसत्रमा पेस गर्ने कार्यतालिका छ।यस्तै, सहमहामन्त्रीमार्फत परिमार्जित विधान प्रस्तुत गरिनेछ। विधानमाथि छलफल गरी अनुमोदन भएपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ। राजनीतिक प्रतिवेदनमाथि व्यापक छलफल गरी पारित गरिनेछ।
राजनीतिक प्रतिवेदन अनुमोदन भएपछि सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्ने र हालको आयोजक समितिले आफ्नो जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने सम्भावित कार्यतालिका रहेको छ।त्यसपछि निर्वाचन आयोगले नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया, उम्मेदवारी दर्ता तथा मतदान सम्बन्धी विस्तृत कार्यतालिका सार्वजनिक गर्नेछ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन गत आइतबार चितवनको गेष्टहाउस चौरमा विशेष समारोहबीच उद्घाटन गरिएको थियो। महाधिवेशनको बन्दसत्र भने नारायणगढस्थित उद्योग संघ प्रदर्शनी केन्द्रमा सञ्चालन भइरहेको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया