Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

विष्णु पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र षड्यन्त्रको पराकाष्ठा : केपी ओली


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीप्रति तीव्र आपत्ति जनाउँदै यसलाई राजनीतिक प्रतिशोध र विपक्षी दलविरुद्धको योजनाबद्ध कदमको संज्ञा दिएका छन्।

सोमबार उपाध्यक्ष पौडेल सुर्खेतबाट पक्राउ परेपछि अध्यक्ष ओलीले विज्ञप्ति जारी गर्दै सरकारको कदमको कडा आलोचना गरेका हुन्। उनले वर्तमान सरकार विपक्षी दलप्रति असहिष्णु बन्दै अराजनीतिक तथा अलोकतान्त्रिक गतिविधिमा संलग्न भएको आरोप लगाए।विज्ञप्तिमा ओलीले पौडेलमाथिको गिरफ्तारीलाई आफू र नेकपा (एमाले) विरुद्ध लक्षित राजनीतिक षड्यन्त्रको अर्को श्रृंखला भएको दाबी गरेका छन्। उनले कानुनी प्रक्रिया र लोकतान्त्रिक मूल्यमान्यतालाई बेवास्ता गर्दै सरकार प्रतिशोधको राजनीतिमा उत्रिएको आरोप समेत लगाएका छन्।

ओलीका अनुसार सार्वजनिक जिम्मेवारीमा रहेका तथा कानुनप्रति प्रतिबद्ध व्यक्तिलाई आवश्यक परे बोलाएर सोधपुछ गर्न सकिने अवस्था हुँदाहुँदै गिरफ्तारीको बाटो रोजिनु बदनियतपूर्ण कदम हो। उनले यो कार्य कानुनी आवश्यकताभन्दा पनि राजनीतिक उद्देश्यबाट प्रेरित भएको बताएका छन्।अध्यक्ष ओलीले सरकार सर्वसत्तावादी र अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भइरहेको दाबी गर्दै लोकतान्त्रिक प्रणालीमाथि नै चुनौती सिर्जना हुन थालेको टिप्पणी गरेका छन्।

उनले विपक्षी दलका नेतामाथि लक्षित यस्ता गतिविधि तत्काल रोक्न सरकारलाई चेतावनी दिँदै यस्ता कार्यले राजनीतिक वातावरण थप असहज बन्न सक्ने बताएका छन्।

‘विपक्षी दलका नेताहरूमाथि लक्षित प्रतिशोधपूर्ण र पूर्वाग्रही कदमहरू तत्काल बन्द गरिनुपर्छ। अन्यथा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार स्वयंले लिनुपर्नेछ,’ ओलीले विज्ञप्तिमार्फत बताएका छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट