रास्वपा महाधिवेशनमा उम्मेदवारका प्रस्तावक–समर्थक स्वयं उम्मेदवार बन्न नपाउने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा उम्मेदवारका प्रस्तावक र समर्थक बसेकाहरू स्वयं कुनै पनि पदमा उम्मेदवार हुन नपाउने भएका छन् । पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जारी गरेको सूचनाअनुसार यस्तो व्यवस्था गरिएको हो । आयोगले स्पष्ट पारेको छ कि प्रस्तावक वा समर्थकका रूपमा हस्ताक्षर गरेका व्यक्तिहरू सोही प्रक्रियाबाट उम्मेदवार बन्न अयोग्य हुनेछन् ।
सभापति पदका लागि एक जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य गरिएको छ । त्यसैगरी पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि २१/२१ जना समर्थक र एक–एक जना प्रस्तावक आवश्यक पर्नेछ । उम्मेदवारहरूले मनोनयन फारमसँगै प्रस्तावक र समर्थकहरूको नाम, सम्पर्क नम्बर र हस्ताक्षर अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।
शुल्कतर्फ सभापतिका लागि ५१ हजार रुपैयाँ र पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि २१ हजार रुपैयाँ तोकिएको छ ।
आयोगका अनुसार एक प्रस्तावकले एकभन्दा बढी उम्मेदवारको फारममा हस्ताक्षर गर्न पाउने छैन भने समर्थकले एकभन्दा बढी उम्मेदवारलाई समर्थन गर्न पाउनेछन् । तर प्रस्तावक वा समर्थकको नाम महाधिवेशन प्रतिनिधिको सूचीमा अनिवार्य रूपमा समावेश हुनुपर्नेछ ।
निर्वाचन आयोगले यो नियम उल्लंघन गरी पेस गरिएका मनोनयन स्वतः अमान्य हुने स्पष्ट पारेको छ ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया