सुदूरपश्चिम सरकारमा संकट: बजेट संशोधन नभए सरकारबाट बाहिरिने एमालेको चेतावनी
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रदेश सभामा पेस गरेको वार्षिक बजेटप्रति सत्तारूढ प्रमुख घटक नेकपा (एमाले) ले कडा असन्तुष्टि जनाएको छ।
एमालेले बजेट यथास्थितिमा पारित गर्न नसकिने अडान लिँदै संशोधन नगरिए सरकारलाई दिएको समर्थन फिर्ता लिने तथा सरकारबाट बाहिरिने चेतावनीसमेत दिएको छ।नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको ११औँ पूर्ण बैठकले वर्तमान सरकारले ल्याएको बजेट एकपक्षीय र एकलौटी भएको निष्कर्ष निकालेको छ। बजेट निर्माण प्रक्रियामा सत्तारूढ गठबन्धनको अर्को प्रमुख दल एमालेलाई पूर्ण रूपमा बेवास्ता गरिएको बैठकको ठहर छ।
प्रदेश उपसचिव तथा प्रचार–प्रकाशन विभाग प्रमुख भागरथी विष्टद्वारा जारी विज्ञप्तिमा वर्तमान अवस्थामा सरकारलाई निरन्तर समर्थन गर्न नसकिने उल्लेख गर्दै बजेटमा आवश्यक संशोधन अपरिहार्य रहेको स्पष्ट पारिएको छ।धनगढीस्थित प्रदेश कार्यालयमा सम्पन्न बैठक प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीको अध्यक्षतामा बसेको थियो। बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज दामोदर भण्डारीको समेत उपस्थिति रहेको थियो।
एमालेको यो निर्णयसँगै सुदूरपश्चिम प्रदेश सरकारको राजनीतिक स्थिरता र बजेट पारित प्रक्रियामा थप अनिश्चितता र चुनौती उत्पन्न भएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया