रास्वपा महाधिवेशन : स्वर्णिम र कविन्द्र पदाधिकारी दौडमा, गण्डकीबाट आकांक्षीको लर्को
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्दै जाँदा गण्डकी प्रदेशबाट पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीहरूको संख्या उल्लेख्य देखिएको छ।
पार्टीका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पुनः उपसभापति पदमा दोहोरिने तयारीमा छन् भने महामन्त्री कविन्द्र बुर्लाकोटी पनि आफ्नो पद जोगाउने दौडमा रहेका छन्। दुवै नेता गण्डकी प्रदेशका हुन् र पार्टीभित्र प्रभावशाली मानिन्छन्।रवि लामिछानेले २०७९ सालमा रास्वपा स्थापना गरेपछि कांग्रेस त्यागेर पार्टीमा प्रवेश गरेका वाग्ले उपनिर्वाचनमार्फत संसद् पुगेका थिए। त्यसयता उनी पार्टी र सरकार दुवैमा महत्वपूर्ण भूमिकामा छन्।
महामन्त्री बुर्लाकोटी पार्टी स्थापनाकालदेखि नै लामिछानेका निकट सहयोगीका रूपमा चिनिन्छन्। उनी हाल गोरखा–२ बाट निर्वाचित सांसद तथा संसदीय दलका सचेतकसमेत हुन्।संशोधित विधानअनुसार रास्वपामा तीन उपसभापति र दुई महामन्त्री रहने व्यवस्था छ। १४८ सदस्यीय केन्द्रीय समितिमध्ये ९९ जना निर्वाचनबाट चयन हुनेछन् भने बाँकी सदस्य सभापतिले मनोनयन गर्नेछन्।
महाधिवेशनमा गण्डकी प्रदेशबाट ४७७ प्रतिनिधि सहभागी रहेका छन्। प्रदेशबाट सांसद, पूर्वसांसद तथा संस्थापक नेतासहित दर्जनौँ नेता केन्द्रीय सदस्य पदका आकांक्षी बनेपछि प्रतिस्पर्धा निकै चर्किने देखिएको छ।पार्टीभित्र पछिल्लो समय समायोजन भएका नेताहरूलाई व्यवस्थापन गर्ने चुनौती पनि नेतृत्वसामु रहेको नेताहरू बताउँछन्। त्यसैले महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय समितिको अन्तिम संरचना कस्तो बन्छ भन्नेमा चासो बढेको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया