एमाले उपाध्यक्ष विष्णु पौडेल विशेष अदालतमा उपस्थित, म्याद थप प्रक्रिया सुरु
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई म्याद थप प्रक्रियाका लागि विशेष अदालत लगिएको छ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई मंगलबार विशेष अदालतमा उपस्थित गराइएको हो। अदालतबाट अनुसन्धानका लागि आवश्यक म्याद थप्ने प्रक्रिया अघि बढाइएको जनाइएको छ।पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई रातारात काठमाडौं ल्याएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नियन्त्रणमा राखिएको थियो।
विभागले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउअघि अनुसन्धान टोलीले ललितपुरको भैँसेपाटीस्थित पौडेलको निवासमा समेत खानतलासी गरेको थियो।पौडेलमाथि लागेको आरोप र अनुसन्धानको विस्तृत विवरणबारे विभागले औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन। यद्यपि, अनुसन्धान जारी रहेकाले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको बताइएको छ।
एमालेका वरिष्ठ नेतासमेत रहेका पौडेलको पक्राउसँगै राष्ट्रिय राजनीतिमा नयाँ बहस सुरु भएको छ। यस विषयमा एमालेले सरकारमाथि राजनीतिक प्रतिशोधको आरोप लगाएको छ भने अनुसन्धान निकायले कानुनबमोजिम प्रक्रिया अघि बढाइएको जनाएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया