सुधन गुरुङको समर्थनले जेनजी आकांक्षी उत्साहित
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि ठूलो संख्यामा जेनजी अगुवा, आन्दोलनका घाइते तथा नयाँ राजनीतिक अनुहारहरूले उम्मेदवारी दिने तयारी गरेका छन्।
पार्टीभित्रको निर्वाचन प्रक्रियाअनुसार थुप्रैले प्रत्यक्ष प्रतिस्पर्धामार्फत निर्वाचित हुने भन्दै उम्मेदवारी घोषणा गरिरहेका छन्।
जेनजी समूहलाई गृहमन्त्री सुधन गुरुङ को बलियो समर्थन रहेको दाबी गरिएको छ। सभापतिले मनोनयन गर्ने ५१ केन्द्रीय सदस्यमध्ये आधा जेनजी हुनुपर्ने उनको अडानले आकांक्षीहरू उत्साहित भएका छन्।
जेनजी आन्दोलनपछि रास्वपामा सक्रिय भएकी टासी ल्हाजोम कर्णाली प्रदेश भूगोल क्लस्टरबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने तयारीमा छिन्। उनी यसअघि पनि राजनीतिक भूमिकामा सक्रिय रहिसकेकी छन्।त्यस्तै, जेनजी आन्दोलनका घाइते प्रकाश बोहोरा पनि केन्द्रीय सदस्यका आकांक्षी रहेका छन्। आन्दोलनको क्रममा घाइते भएका उनको तस्बिर जेनजी आन्दोलनको प्रतीकका रूपमा चर्चित भएको थियो।
जेनजी समूहकी अगुवा तथा सांसद अफ्साना बानु पनि केन्द्रीय सदस्यको आकांक्षी बनेकी छन्। उनले गृहमन्त्री गुरुङले आफूलाई समर्थन गरेको बताएकी छन्।त्यसैगरी सांसद पुरुषोत्तम यादव, सांसद शिवशंकर यादव तथा घाइते अंकित यादव लगायतका नेताहरू पनि केन्द्रीय सदस्य पदका लागि आकांक्षी छन्।
जेनजी आन्दोलनपछि उदाएका सात जना नेता पहिले नै केन्द्रीय सदस्य रहेको बताइएको छ। उनीहरूको निरन्तरता रहने वा निर्वाचनमार्फत प्रतिस्पर्धा गर्नुपर्ने भन्ने विषय भने पार्टी निर्णयमा निर्भर रहने नेताहरूले बताएका छन्।
मंगलबार बन्दसत्र सुरु भएपछि उम्मेदवारी दर्ता प्रक्रिया अघि बढ्ने र महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तयारी छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया