रास्वपा केन्द्रीय सदस्यको मतदान साँझपछि मात्रै, उम्मेदवारको अन्तिम सूची आउन बाँकी
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि हुने निर्वाचन प्रक्रिया अपेक्षाभन्दा ढिलो सुरु हुने भएको छ।
महाधिवेशनमा ९९ सदस्यीय केन्द्रीय समितिका लागि बुधबार निर्वाचन तय गरिएको भए पनि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन बाँकी रहेकाले मतदान साँझपछि मात्र सुरु हुने सम्भावना देखिएको छ।चितवन उद्योग संघ परिसरस्थित प्रदर्शनी केन्द्रको हलमा हुने निर्वाचनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ। तर, प्रतिनिधिहरूको विवरण प्रणालीमा प्रविष्ट गर्ने कार्य अझै सम्पन्न नभएको र निर्वाचनका अन्य प्रक्रियासमेत बाँकी रहेकाले मतदानमा ढिलाइ हुने भएको हो।
रास्वपा निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाका अनुसार ९९ केन्द्रीय सदस्य पदका लागि चार सयभन्दा बढी उम्मेदवारी परेकाले दाबी–विरोध, उम्मेदवारी फिर्ता तथा अन्तिम नामावली प्रकाशनजस्ता प्रक्रिया पूरा गर्न समय लाग्नेछ।
‘उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन गरेपछि त्यसउपर दाबी–विरोधको समय दिइन्छ। त्यसपछि अन्तिम नामावली प्रकाशन गरेर मात्रै मतदान प्रक्रिया सुरु हुन्छ,’ सापकोटाको भनाइ छ।
निर्वाचन आयोगका अनुसार सबै प्रक्रिया पूरा गर्न कम्तीमा दिनभर लाग्ने भएकाले मतदान साँझतिर मात्रै सुरु हुने अनुमान गरिएको छ।
रास्वपाको प्रथम महाधिवेशनमा नेतृत्व चयनका साथै नयाँ केन्द्रीय समितिको गठनलाई विशेष महत्वका साथ हेरिएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया