Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी, मन्त्री र सांसदबीच कडा प्रतिस्पर्धा


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत ९९ केन्द्रीय सदस्य पदका लागि चार सयभन्दा बढी नेताकार्यकर्ताले उम्मेदवारी दर्ता गराएका छन्।

मंगलबार साँझ ७ बजेदेखि सुरु भएको मनोनयन दर्ता प्रक्रिया बुधबार बिहान २ बजेसम्म चलेको रास्वपा केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले जानकारी दिए।

उनका अनुसार केन्द्रीय सदस्य पदका लागि चार सयभन्दा बढी उम्मेदवारी परेको प्रारम्भिक विवरण प्राप्त भएको छ। उम्मेदवारहरूको नाम रुजु गर्ने कार्य जारी रहेकाले अन्तिम संख्या केही फरक पर्न सक्ने बताइएको छ।

गुरुङका अनुसार केन्द्रीय सदस्य पदका लागि अधिकांश मन्त्री, सांसद तथा पार्टीका सक्रिय नेताहरूले उम्मेदवारी दर्ता गराएका छन्। रास्वपामा हाल १८२ सांसद र १६ मन्त्री रहेका छन्।

पार्टी विधानअनुसार महाधिवेशनको पहिलो चरणमा सभापति र ९९ सदस्यीय केन्द्रीय समितिका लागि निर्वाचन भइरहेको छ। सभापति पदमा अन्य कुनै उम्मेदवारी नपरेकाले रवि लामिछाने मंगलबार नै निर्विरोध निर्वाचित भइसकेका छन्।निर्वाचन आयोगले उम्मेदवारमाथि दाबी–विरोध तथा उम्मेदवारी फिर्ताका लागि समय उपलब्ध गराउने जनाएको छ। त्यसपछि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरी केन्द्रीय सदस्य पदको निर्वाचन प्रक्रिया अघि बढाइनेछ।

उम्मेदवारी दर्तापछि आकांक्षीहरूले मंगलबार साँझदेखि नै प्रतिनिधिहरूसँग मत माग्ने अभियान सुरु गरेका छन्। महाधिवेशनस्थलमा रातभर चुनावी माहोल देखिएको थियो।चितवन उद्योग संघ परिसरस्थित प्रदर्शनी केन्द्रको हलमा विद्युतीय मतदान प्रणालीमार्फत निर्वाचन गरिने तयारी गरिएको छ।

यसैबीच रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जारी गरेको सूचनाअनुसार कुनै पनि उम्मेदवारका प्रस्तावक र समर्थक स्वयं उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ। उक्त नियमविपरीत दर्ता भएका मनोनयन स्वतः अमान्य हुने आयोगले स्पष्ट पारेको छ।

आयोगले सभापति पदका लागि एक जना प्रस्तावक र ५१ जना समर्थक तथा केन्द्रीय सदस्य पदका लागि एक जना प्रस्तावक र २१ जना समर्थक अनिवार्य हुने व्यवस्था गरेको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट