“सरकारले यही महिनाको तेस्रो साताबाट भूमिहीन नागरिकलाई ४ आनाको दरले जग्गा वितरण गर्ने”
काठमाडौं। सरकारले लगत संकलन सम्पन्न भएका जिल्लाहरूमा भूमिहीन नागरिकलाई सरकारी जग्गा वितरण गर्ने प्रक्रिया तीव्र बनाएको छ। आगामी असारको तेस्रो सातादेखि पहिलो चरणमा बर्दिया जिल्लाबाट जग्गा वितरण सुरु गरिने भएको छ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार त्यसपछि क्रमशः तनहुँ, बाँके, झापा र मकवानपुरलगायत जिल्लामा पनि जग्गा वितरण प्रक्रिया विस्तार गरिनेछ। हालसम्म देशभर २ लाखभन्दा बढी भूमिहीन तथा सुकुम्बासीको लगत संकलन सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ।
सरकारले गठन गरेको पूर्वन्यायाधीश बलभद्र बाँस्तोलाको नेतृत्वको समिति तथा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को नेतृत्वमा रहेको उपसमितिबाट लाभग्राहीको प्रमाणीकरण गरिनेछ। प्रमाणीकरणपछि प्रत्येक योग्य सुकुम्बासी परिवारलाई सम्बन्धित जिल्लामै करिब ४ आना सरकारी जग्गा उपलब्ध गराउने व्यवस्था गरिएको छ।
सरकारी तथ्यांकअनुसार मुलुकभर करिब १२ लाखभन्दा बढी सुकुम्बासी रहेको अनुमान छ। उनीहरूको दीर्घकालीन व्यवस्थापनका लागि सरकारले चरणबद्ध रूपमा जग्गा वितरण तथा बसोबास व्यवस्थापन कार्यक्रम अघि बढाउने योजना बनाएको जनाएको छ।
सरकारले भूमिहीन नागरिकलाई जग्गाको स्वामित्व प्रदान गरी आवासीय सुरक्षा सुनिश्चित गर्ने लक्ष्यसहित यो अभियान सञ्चालन गर्न लागेको हो। यद्यपि लाभग्राही छनोट, जग्गाको उपलब्धता र वितरण प्रक्रियाको पारदर्शितालाई लिएर विभिन्न सरोकारवालाको चासो भने कायम रहेको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया