बालेनको जमेर प्रशंसा गरेका सीके राउत ३ दिनमै ‘फायर’
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले रास्वपाको महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको खुलेर प्रशंसा गरेको तीन दिन नबित्दै उनको राजनीतिक एजेन्डामाथि कडा प्रश्न उठाएका छन्।
रास्वपाले प्रदेशसभा खारेजीलाई राजनीतिक प्रस्तावका रूपमा अनुमोदन गरेपछि राउतले त्यसलाई मधेश र संघीयताप्रतिको प्रतिबद्धताविपरीत भएको बताएका छन्। चुनावका बेला प्रदेशलाई बलियो बनाउने वाचा गर्दै मत मागिएको स्मरण गराउँदै उनले अहिले प्रदेशसभा खारेज गर्ने एजेन्डा अघि सार्नु ‘राजनीतिक बेइमानी’ भएको टिप्पणी गरेका छन्।
राउतले प्रदेशसभा खारेजीको प्रस्ताव पारित हुँदैमा तत्काल कार्यान्वयन नहुने स्पष्ट पार्दै वर्तमान राजनीतिक अवस्थामा संविधान संशोधन सहज नभएको बताएका छन्। यद्यपि, प्रदेश संरचना कमजोर पार्ने कुनै पनि प्रयास संघीयताको मर्मविपरीत हुने उनको भनाइ छ।
महाधिवेशन उद्घाटन समारोहमा बालेनलाई ‘स्मार्ट’, ‘डाइनामिक’ र ‘इन्टेलिजेन्ट’ नेताका रूपमा चित्रण गरेका राउतले अहिले भने प्रदेशसभा खारेजीको एजेन्डालाई लिएर असहमति जनाएका हुन्। यससँगै बालेन र राउतबीचको वैचारिक दूरी सार्वजनिक रूपमा देखिन थालेको राजनीतिक वृत्तमा चर्चा छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया