रास्वपा महाधिवेशनमा मतदान शुरु, व्यवस्थापन भद्रगोल भएकोमा प्रतिनिधिको असन्तुष्टि
काठमाण्डौ । चितवनमा भैरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत मध्यरातदेखि मतदान शुरु भएको छ । महाधिवेशन शुरु भएको पाँचौ दिनमा ९९ पदका लागि विद्युतीय मतदान शुरु भएको हो ।
मतदान आज बिहान १० बजेसम्म चल्नेछ । ९९ पदका लागि ३८४ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारविरुद्ध परेका दाबी–बिरोधको छानबिन, उम्मेदवारी खारेजी तथा फिर्ता लिने क्रमपछि अन्तिम सूचीमा २०४ जनाको मात्रै उम्मेदवारी कायम गरिएको छ ।
पहिलो चरणमा सभापति र ९९ केन्द्रीय सदस्यको चुनाव हुने रास्वपाको विधानमा व्यवस्था छ । सभापतिमा रवि लामिछाने निर्विरोध भैसक्नुभएको छ । ९९ केन्द्रीय सदस्यका लागि मतदान भइरहेको हो ।
यसैबीच महाधिवेशनमा देखिएको भद्रगोल व्यवस्थापनप्रति रास्वपाका प्रतिनिधिहरूले असन्तुष्टि व्यक्त गरेका छन् । बन्दसत्र र निर्वाचन प्रक्रिया पटक–पटक प्रभावित भएर महाधिवेशन लम्बिएपछि कतिपय प्रतिनिधि घर फर्किएका छन् । पार्टीको भावी दिशा तय गर्ने राजनीतिक दस्तावेजमाथि समेत पर्याप्त छलफल हुन नपाएको प्रतिनिधिहरूले गुनासो छ ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया