बालेन टिममा दुई धारः कोही मत माग्दै दौडमा, कोही मनोनयनको प्रतीक्षामा
चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह निकट नेताहरूबीच चुनावी प्रतिस्पर्धा र मनोनयनको रणनीतिबारे चर्चा चुलिएको छ।
प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असिम शाहले मंगलबार साँझ केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गराएका थिए। मध्यरातिसम्म चितवनको गर्मीमा प्रतिनिधिसँग भेटघाट गर्दै उनले आफ्नो पक्षमा मत मागिरहेका युवाहरूको साथ पाए। करिब दुई घण्टासम्म उनी प्रतिनिधिहरूसँग संवादमा व्यस्त देखिए।
त्यस्तै, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेपछि प्रचार अभियानलाई तीव्र बनाएका छन्। इन्जिनियरिङ पृष्ठभूमिका ढकालले युवा कार्यकर्तामार्फत आफ्नो चुनावी अभियान सञ्चालन गरिरहेका छन्। प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकाल पनि केन्द्रीय सदस्यको दौडमा छन्।
बुधबार बिहानदेखि यी तीनै जना प्रतिनिधिहरूसँग मत माग्न व्यस्त देखिए। प्रत्येक प्रतिनिधिसम्म पुग्ने हतारोमा रहेका उनीहरू कतिपय अवस्थामा मतदाताका जिज्ञासाको उत्तर दिन नपाउँदै अर्को समूहसँग संवाद गर्न पुगिरहेका थिए।रास्वपाको ९९ सदस्यीय केन्द्रीय समितिमा स्थान बनाउन चुनाव जित्नुपर्ने चुनौतीका बीच प्रधानमन्त्री शाह निकटका केही प्रभावशाली नेताहरू भने मनोनयनमार्फत नेतृत्वमा पुग्ने तयारीमा रहेको चर्चा महाधिवेशनस्थलमा सुनिन्थ्यो।
निवर्तमान महामन्त्री भुपदेव शाह, गृहमन्त्री सुदन गुरुङ र पूर्वाधार मन्त्री सुनिल लम्साल प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा नउत्रिएर मनोनयनको विकल्प रोज्न सक्ने अनुमान प्रतिनिधिहरूले गरेका छन्। भुपदेव शाह महाधिवेशनस्थलमा सक्रिय देखिए पनि गुरुङ र लम्साल भने चुनावी प्रचारमा नदेखिएको प्रतिनिधिहरूको भनाइ छ।
चितवनको गर्मीमा सयौं उम्मेदवार मत माग्दै प्रतिनिधिहरूसँग भेटघाट गरिरहेका बेला केही नेताले प्रत्यक्ष चुनावबाट टाढा बस्न खोजेको भन्दै प्रतिनिधिहरूबीच चर्चा चलिरहेको छ।रास्वपाको पहिलो महाधिवेशनमा ९९ केन्द्रीय सदस्यका लागि ३५५ जनाको उम्मेदवारी परेको छ। खुला समूहमा मात्रै ३२ जना उम्मेदवार छन्।
गत पुस १३ गते रास्वपासँग एकतामा आएको बालेन समूह पहिलोपटक पार्टीको महाधिवेशन प्रक्रियामा सहभागी भएको हो। सो समूहभित्रै केही नेताहरू प्रत्यक्ष चुनावी मैदानमा उत्रिँदा नेतृत्व तहका केही व्यक्तिले मनोनयनमार्फत जिम्मेवारी खोजेको भन्दै प्रतिनिधिहरूले टिप्पणी गरेका छन्।
पार्टी विधानअनुसार सभापति रवि लामिछानेले ५१ जना केन्द्रीय सदस्यसहित विभिन्न पदाधिकारी मनोनयन गर्न सक्ने व्यवस्था छ। यही व्यवस्थालाई आधार बनाएर केही नेताहरू प्रत्यक्ष निर्वाचनभन्दा मनोनयनको बाटो रोज्न लागेको चर्चा महाधिवेशनस्थलमा भइरहेको छ।
एक प्रतिनिधिले भने, “जनताबाट अनुमोदित राजनीतिक शक्तिले लोकतान्त्रिक प्रक्रियामा सहभागी हुनुपर्छ। मनोनयनको व्यवस्था विशेष परिस्थितिका लागि हो, चुनावबाट भाग्ने माध्यमका रूपमा प्रयोग हुनुहुँदैन।”पुराना दलहरूले विधि र प्रक्रियालाई बेवास्ता गरेको आरोप लगाउँदै वैकल्पिक राजनीतिक शक्तिको रूपमा उदाएको रास्वपाले आफ्नो आन्तरिक लोकतन्त्रलाई थप मजबुत बनाउनुपर्ने आवाज पनि प्रतिनिधिहरूबाट उठिरहेको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया