पराजित गराइएका पूजा र ध्रुबलाई रास्वपा केन्द्रीय सदस्यमा जिताइयो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य निर्वाचनमा देखिएको प्राविधिक त्रुटि सच्याउँदै पूजा बास्तोला र ध्रुब थापा मगरलाई निर्वाचित घोषणा गर्ने निर्णय गरेको छ।
सोमबार बसेको पार्टी निर्वाचन आयोगको बैठकले दुवै उम्मेदवारलाई केन्द्रीय सदस्यमा समावेश गर्ने निर्णय गरेको हो। आयोगले त्रुटि सच्याइएको प्रतिवेदन मंगलबार औपचारिक रूपमा बुझाउने तयारी गरेको जनाएको छ।
चितवनको भरतपुरमा असार ७ देखि १२ गतेसम्म सम्पन्न रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय समिति र पदाधिकारी चयनका लागि निर्वाचन भएको थियो। निर्वाचन परिणाम सार्वजनिक भएपछि केही उम्मेदवारले मतगणना र समावेशी व्यवस्थासम्बन्धी प्रश्न उठाएका थिए।गण्डकी भूगोल तथा प्रवासतर्फबाट उम्मेदवारी दिएकी पूजा बास्तोलाले कुल ९१३ मत प्राप्त गरे पनि प्रारम्भिक नतिजामा निर्वाचितको सूचीमा समावेश गरिएको थिएन। आफूभन्दा कम मत ल्याएका उम्मेदवार निर्वाचित घोषित भएपछि उनले कानुनी उपचार खोज्ने चेतावनी दिएकी थिइन्।
यस्तै, ध्रुब थापा मगरले आफ्नो नाम आदिवासी जनजाति समूहअन्तर्गत समावेश हुनुपर्नेमा खुलातर्फ राखिएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएका थिए।निर्वाचन आयोगका एक सदस्यका अनुसार बास्तोलाको हकमा उच्च मत प्राप्त गरे पनि प्राविधिक कारणले नाम छुटेको पाइएको हो। थापा मगरको हकमा भने उम्मेदवारी दर्ताका क्रममा ‘मगर’ उल्लेख नभएका कारण उनको नाम सम्बन्धित समावेशी क्लस्टरमा नपरेको जनाइएको छ।
रास्वपाको विधानअनुसार खुला र विभिन्न समावेशी समूहबाट गरी ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ। आयोगले प्राप्त निवेदन र आवश्यक प्रमाणका आधारमा दुवै उम्मेदवारलाई केन्द्रीय सदस्यमा समावेश गर्ने निर्णय गरेको जनाएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया