Techie IT
KTM Post
मंगलबार, १६ असार, २०८३

हुलाक सेवाको आधुनिकीकरण अपरिहार्य, निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छ सरकार : मन्त्री तिमिल्सिना


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले परम्परागत हुलाक सेवालाई समयअनुकूल आधुनिकीकरण नगरी प्रभावकारी र नागरिकमैत्री सेवा प्रवाह सम्भव नहुने बताएका छन्।

हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले हुलाकमार्फत नागरिकका कागजात तथा पार्सल सुरक्षित र समयमै गन्तव्यमा पुर्‍याउने विषयमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।उनले हुलाक सेवा विभाग र लामो समयदेखि कुरियर तथा डेलिभरी सेवा दिँदै आएका निजी क्षेत्रसँग सहकार्य गर्दै कानुनी तथा व्यावहारिक समस्याको समाधानका लागि सरकार सक्रिय रहेको जानकारी दिए।

मन्त्री तिमिल्सिनाले नागरिकले आफ्नो आवश्यकता अनुसार जुनसुकै समयमा पनि हुलाकमार्फत सामग्री छिटो र भरपर्दो रूपमा पठाउन सक्ने वातावरण निर्माण गरिने बताए। उनका अनुसार आधुनिक प्रविधिसँग नजोडी, संरचनागत सुधार नगरी र सेवा प्रवाहको समय नघटाई हुलाक सेवालाई प्रतिस्पर्धी र लोकप्रिय बनाइराख्न सम्भव छैन।निजी क्षेत्रको तीव्र प्रतिस्पर्धा र नागरिकको बदलिँदो जीवनशैलीलाई मध्यनजर गर्दै हुलाक क्षेत्रले आफ्नो परम्परागत छवि जोगाउन व्यापक सुधार आवश्यक रहेको उनको भनाइ थियो।

उनले २१औँ शताब्दीमा नागरिकको अपेक्षा र समयप्रतिको संवेदनशीलता परिवर्तन भइसकेकाले हुलाकको सम्पूर्ण डेलिभरी प्रणालीलाई पुनः डिजाइन गरी नयाँ ढङ्गबाट सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।उपभोक्ताको मागअनुसार नयाँ प्रविधि र कार्यशैली अपनाउन सके मात्र हुलाक क्षेत्रले व्यावसायिक सफलता हासिल गर्न सक्ने दाबी गर्दै मन्त्री तिमिल्सिनाले हुलाकलाई चिठीपत्र आदानप्रदानमा मात्र सीमित नराखी समयसापेक्ष रूपान्तरण गर्नु आजको प्रमुख आवश्यकता भएको बताए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट