Techie IT
KTM Post
सोमबार, २२ असार, २०८३

संसद्‌मा बोइलर कुखुरापालक किसानको पीडा: बर्डफ्लुको त्रास नियन्त्रण गर्न रास्वपा सांसदको माग


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले देशका विभिन्न स्थानमा बोइलर कुखुरा पालन गर्ने किसानहरू बर्डफ्लुको हल्लाका कारण गम्भीर समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले बर्डफ्लुको त्रासका कारण बजारमा कुखुराको मासु तथा अण्डाको माग घट्ने, बजार मूल्यमा गिरावट आउने र यसले किसानको ठूलो लगानी जोखिममा पर्ने अवस्था सिर्जना भएको बताइन्।

संसद्मा बोल्दै उनले भनिन्, “हाल देशका विभिन्न स्थानमा बोइलर कुखुरा पालन गर्ने किसानहरूले बजारमा बर्डफ्लुको हल्लाको त्रासका कारण गम्भीर समस्या भोगिरहेको जानकारी गराउनुभएको छ। यसबाट कुखुराको मासु तथा अण्डाको माग घट्ने, बजार मूल्यमा गिरावट आउने र किसानको ठूलो लगानी जोखिममा पर्ने अवस्था सिर्जना भएको छ।”

उनले बर्डफ्लु पुष्टि हुने प्रक्रिया चलिरहेकै अवस्थामा नेपाल टेलिकमको रिङटोनमार्फत किसानलाई थप मार पर्ने खालको सूचना प्रसारण गरिएको भन्दै त्यसमा आपत्तिसमेत जनाइन्।

सांसद तामाङले वास्तविक प्रयोगशाला परीक्षणका आधारमा सङ्क्रमण पुष्टि भएको हो वा केवल आशङ्काका भरमा त्यस्ता सूचना जारी गरिएको हो भन्ने विषयमा सरकारले अविलम्ब स्पष्ट पार्नुपर्ने माग गरिन्।

उनले अगाडि भनिन्, “सङ्क्रमण पुष्टि हुने प्रक्रियामा रहँदै गर्दा नेपाल टेलिकमको रिङटोनमा नेपाली कृषकलाई मार पर्ने सूचनासमेत सम्प्रेषण गरियो। यस सन्दर्भमा वास्तविक प्रयोगशाला परीक्षण र प्रमाणका आधारमा पुष्टि भएको हो कि केवल आशङ्काका आधारमा यस्ता सूचना जारी भएका हुन्, यो विषयमा स्पष्टता दिन अत्यन्त आवश्यक देखिन्छ।”

यदि वास्तवमै बर्डफ्लु सङ्क्रमण पुष्टि भएको हो भने त्यसको नियन्त्रण, रोकथाम तथा किसानको संरक्षणका लागि तत्काल प्रभावकारी कदम चाल्न उनले आग्रह गरिन्।

सांसद तामाङले सत्यतथ्यमा आधारित सूचना मात्र प्रवाह गर्न र किसानको मेहनत, लगानी तथा जीविकोपार्जन अनावश्यक रूपमा जोखिममा पर्न नदिनका लागि नेपाल सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएकी छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट