प्रधानमन्त्रीको सम्पत्ति विवरणमा विपक्षीको आँखा: दुई सय तोला सुन कहाँबाट आयो भन्दै संसद्मा प्रश्न
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सामाजिक सञ्जालमा ‘भाइरल’ हुने मोह त्यागेर गम्भीर रूपमा देश सञ्चालनमा केन्द्रित हुन आग्रह गरेको छ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले लोकतन्त्रमा लोकप्रिय हुनु र उत्तरदायी हुनु एउटै विषय नभएको भन्दै सामाजिक सञ्जालमा भाइरल हुन सजिलो भए पनि देशको प्रधानमन्त्रीका रूपमा गहन र गम्भीर भएर कार्य गर्न कठिन हुने टिप्पणी गरे।उनले प्रधानमन्त्री शाहलाई अब भाइरल हुने बाटो भुलेर पदीय दायित्व र गम्भीरतामा ध्यान केन्द्रित गर्न सुझाव दिए।संसद्मा बोल्ने क्रममा नेता आङ्देम्बेले हालै सार्वजनिक भएको प्रधानमन्त्री शाह र मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरणमाथि गम्भीर प्रश्न उठाए।
विगत ३५ वर्षसम्म देशमा काम गर्ने वातावरण नभएको भन्दै सत्तापक्षका नेताहरूले गर्दै आएको टिप्पणीको स्मरण गराउँदै उनले प्रधानमन्त्रीको सम्पत्ति विवरणमा झण्डै दुई सय तोला सुन र मन्त्रीहरूको ठूलो सम्पत्ति देखिनु आश्चर्यजनक रहेको बताए।नेपाली कांग्रेसले सम्पत्ति किन आर्जन गरियो भनेर नखोज्ने तर सार्वजनिक पद धारण गरेको जुनसुकै व्यक्तिले आफ्नो सम्पत्तिको वैध स्रोत खुलाउनुपर्ने दायित्व रहने उनको भनाइ थियो।
जनताले प्रधानमन्त्रीसँग यति धेरै सुन कहाँबाट आयो र त्यसको स्रोत के हो भनेर निरन्तर प्रश्न गरिरहेकाले त्यसको स्पष्ट जवाफ जनतालाई दिनुपर्ने माग विपक्षी दलका नेता आङ्देम्बेले गरे।भ्रष्टाचार नियन्त्रणमा सरकारले देखाएको इच्छाशक्तिको स्वागत गर्दै नेता आङ्देम्बेले भ्रष्टाचारमा संलग्न जुनसुकै दल वा पदको व्यक्ति भए पनि कानुनको दायरामा आउनुपर्नेमा जोड दिए।
सरकारले उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि बनाएको समितिको स्मरण गर्दै उहाँले उक्त छानबिनको सुरुवात आफैँबाट र प्रधानमन्त्रीबाट गर्न खुला चुनौती दिए।आफ्नो घर पाँचथरमा रहेको र त्यहाँको सम्पत्तिसहित आफ्नो सम्पत्ति छानबिन गर्न आफू पूर्ण रूपमा तयार रहेको स्पष्ट पार्दै उनले प्रधानमन्त्री शाह पनि छानबिनका लागि तयार हुनुपर्ने माग गरे।
प्रधानमन्त्रीले आर्जन गरेको सम्पत्ति अवैध नै हो भन्ने आफूहरूलाई नलागे पनि आम नागरिकको चासो र प्रश्नको सम्बोधन गर्न निष्पक्ष छानबिन आवश्यक रहेको उनको तर्क थियो।सम्पत्ति छानबिन प्रक्रिया कानुनभन्दा बाहिर गएर वा चयनात्मक रूपमा गर्न नहुनेमा नेता आङ्देम्बेले सरकारलाई सचेत गराए।
आफूलाई कानुनभन्दा माथि राखेर अरुमाथि मात्र छानबिन गर्ने प्रवृत्ति गलत हुने भन्दै उनले छानबिन पूर्ण रूपमा निष्पक्ष, पारदर्शी र कानुनी परिधिभित्र रहेर हुनुपर्ने तथा त्यसका लागि आवश्यक कानुनको पालना गर्दै प्रधानमन्त्री स्वयं तयार हुनुपर्ने आग्रह गरे।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया