गणेश नेपालीको आत्मदाह प्रयासबारे संसद्मा सरकारको आलोचना, निष्पक्ष छानबिनको माग
काठमाडौं । त्रिपुरेश्वरमा २५ वर्षीय गणेश नेपालीले गरेको आत्मदाह प्रयासपछि उत्पन्न घटनाक्रमलाई लिएर प्रतिनिधिसभामा सरकारको चर्को आलोचना भएको छ। शुक्रबारको बैठकमा विभिन्न दलका सांसदहरूले घटनाको निष्पक्ष छानबिन गर्न र जिम्मेवार निकायको भूमिका स्पष्ट पार्न सरकारसँग माग गरेका हुन्।
विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद बासना थापाले आत्मदाह प्रयासपछि घाइतेको उद्धार प्रक्रियाप्रति प्रश्न उठाइन्। उनले आगलागीबाट गम्भीर घाइते भएका व्यक्तिलाई तत्काल प्रभावकारी उद्धार र उपचारको व्यवस्था हुन नसकेको आरोप लगाउँदै राज्यले मानवीय संवेदनशीलता प्रदर्शन गर्न नसकेको टिप्पणी गरिन्।थापाले सरकार नागरिकको सुरक्षा र जीवन रक्षाभन्दा प्रचारमुखी गतिविधिमा केन्द्रित भएको आरोपसमेत लगाइन्। उनले पछिल्ला केही घटनाको उदाहरण दिँदै नागरिकमा निराशा बढ्दै गएको दाबी गरिन्।
यस्तै, सत्तारूढ नेकपा (एमाले) की सांसद भूमिका लिम्बु सुब्बाले पनि उक्त घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताइन्। उनले गणेश नेपालीको आत्मदाह प्रयासलाई व्यक्तिगत घटना मात्र नभई राज्य संयन्त्रको कमजोरीसँग जोडिएको विषयका रूपमा व्याख्या गरिन्।
सुब्बाले ट्राफिक व्यवस्थापन, जरिवाना प्रणाली तथा प्रशासनिक व्यवहारबारे पनि पुनरावलोकन आवश्यक रहेको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन गरी लापरवाही देखिए जिम्मेवार निकायमाथि कारबाही गर्न सरकारसँग माग गरिन्।
सांसदहरूले घटनाको वास्तविक कारण, उद्धार प्रक्रियाको प्रभावकारिता तथा सम्बन्धित निकायको भूमिकाबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका छन्।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया