Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न ‘कुलिङ पिरियड’ अनिवार्य


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्थानीय तहको उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूलाई कुलिङ पिरियड लागू हुने भएको छ । आइतबार सचिवालय बैठकले अनुमोदन गरेको ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा, २०८३’ मा कुलिङ पिरियडको व्यवस्था लागू गरेको हो ।

कुलिङ पिरियडमा सामान्य र विशेष व्यवस्था गरिएको छ । बुँदा नम्बर ‘क’ को १ मा पहिलो राजनीतिक आबद्धता भएको आबद्धता भएको व्यक्तिको हकमा पार्टी सदस्यता लिएको ४५ दिन पुरा भएको हुनुपर्ने व्यवस्था छ ।

आफ्नो जीवनकालमै पहिलोपटक कुनै राजनीतिक दलको सदस्यता बनेको अर्थात् रास्वपा नै पहिलो राजनीतिक दल रहेको व्यक्तिको हकमा पार्टी सदस्यता प्राप्त गरेको कम्तीमा ४५ दिन पुरा भएको हुनुपर्ने भनिएको छ ।

सोही बुँदाको २ मा अन्य दलबाट प्रवेश गरेको हकमा ९० दिनको कुलिङ पिरियड राखिएको छ । बुँदा नं. ‘ख’ मा विशेष परिस्थितिमा ल्याटरल इन्ट्री सम्बन्धी व्यवस्था छ ।

विशेष परिस्थितिमा समाजका प्रतिष्ठित, विज्ञ, सार्वजनिक रूपमा स्वच्छ छवि भएका वा पार्टीलाई आवश्यक पर्ने विशेष क्षमता भएका व्यक्तिहरूलाई कुलिङ पिरियडको अवधि पुरा नभए पनि ल्याटरल इन्ट्री मार्फत क्यान्डिडेट क्लबमा आवेदन दिन अनुमति दिन सकिनेछ । यसका लागि पद र तहअनुसार औपचारिक लिखित सहमति अनिवार्य गरिएको छ ।

१.वडा अध्यक्ष र सदस्य पदका लागि क्यान्डिडेट क्लबमा आवेदन दिन सम्बन्धित पालिका र जिल्ला समितिको औपचारिक लिखित सहमति अनिवार्य हुनेछ ।

२.गाउँपालिका अध्यक्ष/उपाध्यक्ष र नगरपालिका मेयर/उपमेयर पदका लागि पालिका क्यान्डिडेट क्लबमा आवेदन दिन सम्बन्धित जिल्ला समिति र प्रदेश समितिको औपचारिक लिखित सहमति अनिवार्य हुनेछ ।

३.उपमहानगरपालिका र महानगरपालिका प्रमुख/उपप्रमुख पदका लागि पालिका क्यान्डिडेट क्लबमा आवेदन दिन केन्द्रीय समितिको औपचारिक लिखित सहमति अनिवार्य गरिएको छ ।

 

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट