को हुन् उपसभामुख रुबी कुमारी ठाकुर ?
काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४, मुझेलिया गाउँकी रुबी कुमारी ठाकुर सामान्य पृष्ठभूमिबाट उठेर संघीय संसद्को उपसभामुख पदसम्म पुग्न सफल भएकी छन्। बुबा सोगराथ र आमा रेणुका छ सन्तानमध्ये एक रुबीले संघर्षपूर्ण जीवनयात्रामार्फत राष्ट्रिय नेतृत्वमा आफ्नो स्थान बनाएकी हुन्।
प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएपछि श्रम संस्कृति पार्टीबाट समानुपातिक सांसद बनेकी उनले पार्टीले दिएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै त्यसलाई निष्ठापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएकी छन्।
उनी हर्कराज राई (हर्क साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टीसँग अचानक जोडिएकी भने होइनन्। सामाजिक सञ्जालमार्फत साम्पाङका गतिविधि नियाल्दै आएकी रुबी उनीप्रति पहिल्यै प्रभावित थिइन्। चुनावअघि भएको भेटले उनलाई सक्रिय राजनीतिमा होमिन प्रेरित गर्यो, जसले अन्ततः संघीय संसद्सम्मको यात्रा तय गरायो।
मुझेलिया गाउँमा हजाम पेसा गर्ने परिवारमा जन्मिएकी रुबीको परिवार आर्थिक रूपमा कमजोर थियो। चार बहिनी र दुई भाइको ठूलो परिवारको जिम्मेवारी, छोरीहरूको विवाह र शिक्षाको भारले परिवारलाई थप चुनौतीपूर्ण बनाएको थियो। यही कारण उनका बुबा वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका थिए। त्यही आम्दानीले परिवार चलाउने, छोरीहरूको विवाह गर्ने र सन्तानलाई पढाउने काम भयो। छोरी सांसद बनेको खबर पाएपछि भने उनी स्वदेश फर्किएका छन्।
शिक्षातर्फ, उनले २०७४ सालमा एसइई उत्तीर्ण गरेपछि धनुषाकै बलरा पोलिटेक्निकबाट तीनवर्षे इन्जिनियरिङ डिप्लोमा पूरा गरिन्। त्यसपछि वस्तु आर्किटेक्चर कन्सल्टेन्सीमा करिब सात महिना कार्यरत रहँदा उनले नक्सा बनाउने तथा टुडी–थ्रिडी डिजाइन गर्ने काम गरिन्। मासिक करिब २० हजार आम्दानी गर्दै उनले भाइबहिनीको पढाइ खर्चसमेत धानेकी थिइन्।
चुनावी अभियानका क्रममा हर्कराज राई सँग प्रत्यक्ष भेटपछि उनी पार्टीको अभियानमा सक्रिय भइन्। धनुषा–४ मा घरदैलो अभियानदेखि मतदातासँग प्रत्यक्ष संवादसम्म उनले भूमिका निर्वाह गरिन्। त्यसैबीच पार्टीले उनलाई मधेसी जनजाति क्लस्टरबाट समानुपातिक सांसदका रूपमा सिफारिस गर्यो, जुन उनका लागि अप्रत्याशित अवसर बन्यो।
रुबीले मधेसमा रहेको पछौटेपन, विभेद तथा महिला हिंसाविरुद्ध काम गर्ने प्रतिबद्धता जनाएकी छन्। विशेषगरी दाइजो प्रथा र बालविवाह अन्त्यलाई उनले प्राथमिकतामा राखेकी छन्।
राजनीतिसँगै शिक्षालाई निरन्तरता दिने लक्ष्य राखेकी रुबी भविष्यमा बीई अध्ययन गर्ने योजनामा छिन्। २६ वर्षको उमेरमै सांसद बनेकी उनी हाल अविवाहित छन्।
घरदैलो अभियानबाट सुरु भएको उनको राजनीतिक यात्रा छोटो समयमै संघीय संसद्सम्म पुगेको छ, जसले उनलाई नयाँ पुस्ताका लागि प्रेरणादायी पात्र बनाएको छ।
क्याटेगोरी : राजनीति










प्रतिक्रिया