अघि बढ्यो संघीय निजामती विधेयकको मस्यौदा
काठमाडौं । संघीय निजामती सेवा विधेयक कानुन निर्माण प्रक्रियामा थप अगाडि बढेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदा अर्थ मन्त्रालयबाट स्वीकृत भएर पुनः सम्बन्धित मन्त्रालयमै फिर्ता आएको हो ।
अर्थ मन्त्रालयले गत बुधबार मस्यौदामा सहमति जनाउँदै फिर्ता पठाएको जनाएको छ । अब कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको रायसहित मन्त्रिपरिषद्मा पेश गरिने तयारी गरिएको छ । मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि विधेयक संसद्मा दर्ता हुनेछ ।
प्रस्तावित विधेयकमा निजामती सेवामा प्रवेशका लागि उमेर हद महिलाका लागि ३५ वर्ष र पुरुषका लागि ३२ वर्ष कायम गर्ने व्यवस्था गरिएको छ । त्यस्तै कर्मचारीको अवकाश उमेर ६० वर्ष पुर्याउने प्रस्ताव पनि समेटिएको छ ।
विधेयकमा निजामती सेवाबाट अवकाश वा राजीनामा दिएका कर्मचारीलाई निश्चित समयसम्म संवैधानिक तथा राजनीतिक नियुक्तिमा जान रोक लगाउने ‘कुलिङ अफ पिरियड’को व्यवस्था प्रस्ताव गरिएको छ ।
यसअघि सरकारले अध्यादेशमार्फत हटाएको कर्मचारी ट्रेड युनियन सम्बन्धी व्यवस्था नयाँ विधेयकको मस्यौदामा पनि समावेश गरिएको छैन ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया