प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने कार्यसूची
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसद भवनमा बस्ने तय भएको छ। तर प्रमुख विपक्षी दलहरूको अवरोधका कारण बैठक नियमित रूपमा सञ्चालन हुने सम्भावना भने न्यून देखिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले सीमा सम्बन्धमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलहरूले निरन्तर संसद अवरोध गर्दै आएका छन्। प्रधानमन्त्रीले आफ्नो भनाइ फिर्ता लिएर संसदमा औपचारिक रूपमा माफी नमागेसम्म बैठक सञ्चालन हुन नदिने विपक्षी दलहरूको अडान यथावत रहेको छ।
लामो समयदेखि जारी अवरोधका बीच आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफललाई अघि बढाउने कार्यसूची तय गरिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।
यससँगै अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। प्रस्तावमाथि छलफल अघि बढाउने तयारी रहे पनि संसदको अवरोधले त्यसको कार्यान्वयन प्रभावित हुन सक्ने देखिएको छ।
आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको जानकारी गराउने, कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन गरिएको विवरण प्रस्तुत गर्ने तथा वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ राष्ट्रिय सभाबाट निर्धारित अवधिभित्र फिर्ता नभएको विषय सदनलाई अवगत गराउने कार्यसूची रहेको छ।
त्यसैगरी सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम पनि तय गरिएको छ।
संसदको गतिरोध अन्त्यका लागि दलहरूबीच छलफल जारी रहे पनि हालसम्म सहमति जुट्न नसकेकाले आजको बैठक पनि प्रभावित हुने सम्भावना रहेको राजनीतिक वृत्तले जनाएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया