Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

नेतृत्व चयन ढिलो भएपछि हेटौंडाबाट फर्कन थाले रास्वपाका प्रतिनिधि


हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयन प्रक्रिया समयमै अघि बढ्न नसक्दा प्रतिनिधिहरू अधिवेशन स्थलबाट फर्किन थालेका छन्।

मंगलबार बिहान सुरु भएको अधिवेशन सोही दिन सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको थियो। तर निर्वाचन प्रक्रिया निर्धारित समयमा अगाडि बढ्न नसक्दा बुधबार बिहानसम्म पनि मतदान सुरु हुन सकेन। मतदानमा भएको ढिलाइका कारण विभिन्न जिल्लाबाट आएका धेरै प्रतिनिधि घर फर्किएको जनाइएको छ।

प्रदेश नेतृत्व चयनका लागि सभापति पदमा अच्युत्तम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर क्षेत्रीले उम्मेदवारी दर्ता गराएका थिए। यद्यपि निर्वाचन प्रक्रिया अघि बढ्न नसक्दा नेतृत्व चयन अन्योलमा परेको छ।

अधिवेशन प्रभावित हुनुमा निर्वाचन समितिको ढिलासुस्ती मुख्य कारण रहेको सहभागीहरूले बताएका छन्। संगठन विभागका उपप्रमुख बोधनारायण श्रेष्ठ र सचिव शंकर श्रेष्ठको कार्यशैलीका कारण मतदान प्रक्रिया समयमा सुरु हुन नसकेको आरोपसमेत लगाइएको छ।

नेतृत्व चयनको प्रक्रिया मतदानमार्फत नै टुंग्याउने तयारी भइरहेको जनाइएको छ । रास्वपाको प्रदेशस्तरीय पहिलो अधिवेशनका रूपमा आयोजित बागमती अधिवेशनमा १ हजार ३ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट