सिक्टा सिँचाइ आयोजनाले किसानमा बढायो उत्साह, २४ हजार हेक्टर जमिनमा नियमित सिँचाइ सुविधा
बाँके । सिक्टा सिँचाइ आयोजनाले नहरमार्फत नियमित रूपमा पानी उपलब्ध गराउन थालेपछि बाँकेका किसान उत्साहित बनेका छन्। सिँचाइ सुविधाको विस्तारसँगै किसानहरूले समयमै धानको बीउ राख्न पाएका छन् भने व्यावसायिक तरकारी खेतीतर्फ पनि आकर्षण बढ्न थालेको छ।
राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले मर्मतसम्भारको अवधिबाहेक किसानको मागअनुसार वर्षभरि नहरमा पानी उपलब्ध गराउँदै आएको जनाएको छ।
आयोजनाका सूचना अधिकारी तथा सिनियर डिभिजनल इन्जिनियर मनोजकुमार साहका अनुसार किसानको आवश्यकता अनुसार नियमित सिँचाइ सुविधा उपलब्ध गराइँदा कृषि उत्पादन वृद्धि हुनुका साथै बेमौसमी तरकारी खेतीबाट समेत किसानले अतिरिक्त आम्दानी लिन थालेका छन्।
सिक्टा सिँचाइ आयोजनाले बाँके जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको छ। हालसम्म करिब २४ हजार हेक्टर क्षेत्रफलमा प्रत्यक्ष रूपमा नियमित सिँचाइ सेवा उपलब्ध भइरहेको आयोजनाले जनाएको छ।
विगतमा वर्षाको भरमा खेती गर्दै आएका राप्तीसोनारी गाउँपालिका, कोहलपुर नगरपालिका तथा बैजनाथ गाउँपालिकाका किसानले अहिले सिँचाइ सुविधा पाएपछि समयमै धानको बीउ राख्न सफल भएका छन्। पर्याप्त वर्षा नभए पनि सिँचाइ सुविधा पुगेका क्षेत्रमा धानको ब्याड तयार भइसकेको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्।
राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारुले सिक्टा सिँचाइ आयोजनाका कारण किसानले समयमै खेती गर्न पाएको उल्लेख गर्दै यसलाई कृषकका लागि महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे।
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा हालसम्म करिब ४५ प्रतिशत किसानले धानको बीउ ब्याड राखिसकेका छन्। सिँचाइ सुविधा नपुगेका केही क्षेत्रमा मोटर तथा अन्य वैकल्पिक स्रोतबाट पानीको व्यवस्था गरेर खेतीको तयारी भइरहेको छ।
बाँके जिल्लामा वार्षिक रूपमा करिब ३३ हजार ७८० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने गरेको छ। नियमित सिँचाइ सुविधाको विस्तारसँगै आगामी दिनमा कृषि उत्पादनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया