मधेशमा पाँच वर्षमा २१ हजार सडक दुर्घटना, २७ सयभन्दा बढीको मृत्यु
काठमाडौं । मधेश प्रदेशमा पछिल्लो पाँच वर्षमा सडक दुर्घटनाको संख्या अत्यधिक देखिएको छ। आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्मको अवधिमा कुल २१ हजार ९८९ दुर्घटना दर्ता भएका छन्, जसमा २ हजार ७४८ जनाले ज्यान गुमाएका छन्।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार सो अवधिमा ४२ हजार ६३७ सवारीसाधन दुर्घटनामा परेका थिए। दुर्घटनामा १० हजार ८६६ जना गम्भीर घाइते भएका छन् भने ३६ हजार ४४२ जना सामान्य घाइते भएका छन्।
जिल्लागत विवरण हेर्दा धनुषामा सबैभन्दा धेरै दुर्घटना भएको देखिन्छ। धनुषामा पाँच वर्षमा ४ हजार ८६८ दुर्घटना हुँदा ४२८ जनाको मृत्यु र २ हजार ९४३ जना गम्भीर घाइते भएका छन्।
दुर्घटनाको संख्याका आधारमा बारा दोस्रो स्थानमा रहेको छ। बारामा ४ हजार ४६८ दुर्घटनामा ४१६ जनाको मृत्यु र ७८१ जना गम्भीर घाइते भएका छन्। सर्लाहीमा ४ हजार ७२ दुर्घटनामा ३३६ जनाको मृत्यु र २ हजार १३२ जना गम्भीर घाइते भएका छन्।
त्यस्तै सिरहामा ३ हजार ५२६ दुर्घटनामा ३७९ जनाको मृत्यु र १ हजार ७७८ जना गम्भीर घाइते भएका छन् भने सप्तरीमा ३ हजार ७२० दुर्घटनामा ३८३ जनाको मृत्यु र १ हजार २०८ जना गम्भीर घाइते भएका छन्।
रौतहटमा ३ हजार ४०३ दुर्घटनामा ३०० जनाको मृत्यु र ७६९ जना गम्भीर घाइते भएका छन्। महोत्तरीमा ३ हजार ९१ दुर्घटनामा २९८ जनाको मृत्यु र ८९० जना गम्भीर घाइते भएका छन्।
सबैभन्दा कम दुर्घटना पर्सा जिल्लामा भएको तथ्यांकमा देखिएको छ। पर्सामा २ हजार ३५ दुर्घटनामा २०८ जनाको मृत्यु र ३६५ जना गम्भीर घाइते भएका छन्।
प्रदेश प्रहरीका अनुसार ठूलो जनसंख्या, बढी सवारी चाप र सडक सञ्जालका कारण मधेशमा दुर्घटनाको जोखिम उच्च रहेको छ। ट्राफिक व्यवस्थापन, समन्वय र सचेतनामूलक कार्यक्रम प्रभावकारी बनाउन सके दुर्घटना घटाउन सकिने सुझाव दिइएको छ। साथै नीति निर्माण र बजेटमा ट्राफिक प्रहरीको भूमिकालाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया