Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

व्यवसायी दीपक भट्ट र शुलभ अग्रवालविरुद्व बैंकिङ कसुरमा पनि अनुसन्धान सुरु


काठमाडौं । व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालमाथि बैंकिङ कसुरमा पनि अनुसन्धान सुरु हुने भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको भट्ट र अग्रवालमाथि बैंकिङ कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले पनि अनुसन्धान सुरु गरेको हो ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान अन्तिम चरणमा भए पनि त्यससँग जोडिएको धितोपत्र ऐन, बीमा ऐन अन्तर्गतको सम्बद्ध कसुरमा थप अनुसन्धान गर्नुपर्ने भन्दै बुधबार थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

सम्पत्ति शुद्धीकरणसँगै सम्बद्ध कसुर अन्तर्गत बीमा ऐन र धितोपत्र सम्बन्धी ऐन अन्तर्गतको कसुरमा अनुसन्धान हुँदै गर्दा भट्ट र अग्रवालमाथि बैंकिङ कसुरको पनि अनुसन्धान सुरु गरिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानमा प्राप्त भएको तथ्य र प्रमाणसमेतको आधारमा बैंकिङ कसुरको मुद्दामा पनि अनुसन्धान गर्न सिआईबीलाई पत्राचार गरेको जनाइएको छ ।

सुलभ अग्रवालले व्यावसायिक प्रयोजनका लागि लिएको कर्जा दुरुपयोग गरी दीपक भट्टको व्यक्तिगत खातामा ट्रान्सफर गरेको अभियोगमा पनि अनुसन्धान सुरु गरेको हो ।

शंकर ग्रुपका बैंक खातामार्फत दीपक भट्टको खातामा रकम ट्रान्सफर भएको र उक्त कारोबार शंकास्पद कारोबार भएको पाइएपछि राष्ट्र बैंकको वित्तीय जानकारी इकाई ९एफआईयू० ले अनुसन्धान गर्न भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्र पठाएको थियो ।

राष्ट्र बैंकले विभागलाई पठाएको पत्रमा भट्टका नाममा सिद्धार्थ बैंकमा रहेको खातामा जुन २०२१ मा जगदम्बा स्टिल प्रालिका नाममा नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको खाताबाट ४५ करोड ‘ट्रान्सफर’ गरिएको थियो ।

यस्तै हिमालयन बैंक ९मर्जरअगाडिको सिभिल बैंक० को खाता प्रयोग गरी दीपक भट्टको सिद्धार्थ बैंकको खातामा पनि २०७९ को अन्तिम त्रैमासमा रकम जम्मा भएको थियो ।

शंकर समूहको जगदम्बा स्टिलको नाममा लिएको कर्जा व्यावसायिक प्रयोजन विपरीत दीपक भट्टको खातामा जम्मा भएको पाइएपछि बैंकले वित्तीय जानकारी इकाईमा दिएको सूचनाको आधारमा वित्तीय जानकारी इकाईले थप अनुसन्धान गरेको थियो।

यस्तै जगदम्बा स्टिलकै लागि लिएको ४५ करोड रुपैयाँ कर्जा दुरुपयोग गरी दीपक भट्टको खातामा जम्मा भएको विषयमा वित्तीय जानकारी इकाईले २०७९ मै सम्पत्ति शुद्धीकरण विभागमा थप अनुसन्धानको लागि पठाएको थियो । सोही रकमबाट भट्टले हिमालयन री(इन्स्योरेन्सको सेयरमा लगानी गरेको आशंका छ।

सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान नगरी फिर्ता पठाएपछि वित्तीय जानकारी इकाईले सिआईबीमा पनि पठाएको थियो । दुवै निकायले त्यतिबेला यसमा अनुसन्धान नगरी फाइल तामेलीमा राखेका थिए ।

शंकर ग्रुपको कम्पनी जगदम्बा स्टिलबाट भट्टका नामको ओभरड्राफ्ट खातामा सीमाभन्दा बढी कारोबार भएको विषयमा अनुसन्धान नगरी निकायले तामेलीमा राखेको फाइल अब पुनः खुल्ने भएको छ ।

शंकर ग्रुपले कर्जा दुरुपयोग गरी पुँजी पलायन गरेको पनि आरोप छ । यो समूहले दुबईमा कार्यालय नै खोलेर रियलस्टेट लगायत बिजनेस गरिरहेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान अन्तिम चरणमा पुगेको र धितोपत्र ऐन र बीमा ऐन सम्बद्ध कसुरमा थप अनुसन्धानको लागि हिरासतमा राख्न ७ दिनको म्याद थप गरेको छ ।

उक्त अनुसन्धान सकिएसँगै भट्ट र सुलभ अग्रवाललाई सिआईबीले नियन्त्रणमा लिएर बैंकिङ कसुरमा अनुसन्धान अगाडि बढाउने जनाइएको छ । सिआईबीले बैंकिङ कसुरको अनुसन्धानको लागि कागजात र प्रमाण संकलन गरिरहेको छ ।

दीपक भट्ट, सुलभ अग्रवालसहित परिवारका सदस्यहरूको बैंक खाता र कारोबार विवरणसमेत माग गरेर सिआईबीले अनुसन्धान गरिरहेको छ । विशेष गरी कर्जा स्वीकृत भएका खाताको कारोबार रेकर्डहरू माग भएको छ ।

शंकर ग्रुपका ४० भन्दा बढी कम्पनी छन् । जसमा ८० अर्बभन्दा बढी कर्जा प्रवाह भएको देखिएको छ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट