Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

त्रिभुवन विमानस्थलको ५ होटलबाट साढे १४ लाख रुपैयाँ जरिवाना


काठमाडौैं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको सिनामङ्गलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित विभिन्न ६ वटा व्यावसायिक फर्महरूमाथि कारबाही गरेको छ ।

विभागले बिहीबार राति गरेको आकस्मिक अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ विपरीत कार्य गरेको पाइएपछि ५ वटा व्यापारिक प्रतिष्ठानबाट नगद साढे १४ लाख रुपैयाँ जरिवाना गराइएको छ भने एउटा होटललाई २४ घण्टाभित्र कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ ।

विमानस्थलको सान इन्टरनेशनल प्राइभेट लिमिटेड, ओरिण्टल होटल्स् लिमिटेड, टी थ्री थकाली ग्रुप प्राइभेट लिमिटेड साई किरण इन्टरप्राइजेजबाट जनही ३ लाख रुपैयाँ जरिवाना गरिएको छ । यस्तै होटल सोनिंग प्राइभेट लिमिटेडबाट दुई लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

यस्तै सोल्टी होटललाई व्यवसायसँग सम्बन्धित कागजात लिएर २४ घण्टाभित्र विभागमा उपस्थित हुन पनि निर्देशन दिइएको छ । अनुगमनका क्रममा त्यस्ता व्यापारिक प्रतिष्ठानले उपभोक्तासँग ठगी गर्ने उद्देश्यले विभिन्न अवैध गतिविधि गरेको पाइएको विभागले जनाएको छ ।

अनुगमन गरिएका फर्महरूमा सामानको अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) उल्लेख नगरेको, साविकको मूल्य छोपेर नयाँ स्टिकर टाँसेर महँगोमा बिक्री गरेको र एउटै सामानमा दोहोरो मूल्यका स्टिकर टाँसेको पाइएको थियो ।

यस्तै कतिपय फर्महरूले तोकिएको एमआरपीभन्दा बढी मूल्य असुल गरिरहेको र मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने म्याद सकिएका, फुड कलर समेत प्रयोग तथा बिक्रीका लागि राखेको अवस्थामा फेला परेका छन् ।

विभागले बजारमा उपभोक्ता अधिकार हनन हुने गरी व्यवसाय सञ्चालन गर्नेहरूमाथि निगरानी बढाउँदै अनुगमनलाई तीव्रता दिएको बताएको छ । स्वच्छ र प्रतिस्पर्धी बजारका साथै उपभोक्ताको हक हित सुनिश्चित गर्न यस्तो कारबाही गरिएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट