Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

सभापतिले मनोनित गरेर पदाधिकारी बनाउने भएपछि रास्वपाका यी नेता बनेनन् केन्द्रीय सदस्यको उमेदवार


राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले पदाधिकारीमा मनोनित गर्ने भएपछि केहि चर्चित नेताहरूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छैनन् । उनीहरूलाई सभापति लामिछानेले पदाधिकारीमा मनोनित गर्ने शीर्ष नेतृत्वबीचमा सहमति भएकाले केन्द्रीय सदस्यमा उमेदवारी नदिएका हुन् ।

महामन्त्री भूपदेव शाह, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, गृहमन्त्री सुधन गुरुङ र सभापति रवि लामिछानेका निकट मानिने नेता प्रमोद न्यौपानेले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छैनन्। उनीहरूलाई मनोनयन कोटाबाट समेट्ने विषयमा शीर्ष तहमा सहमति भएको बताइएको छ। रास्वपा उचच स्रोतका अनुसार, सुनिल लम्साललाई उपसभापतिमा मनोनित गर्ने तयारी छ भने भूपदेव शाहलाई महामन्त्री र प्रमोद न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी दिने सम्भावना छ। गृहमन्त्री सुधन गुरुङलाई भने केन्द्रीय सदस्यसँगै सचिवालय वा सह–महामन्त्रीमध्ये कुनै पदमा समेट्ने तयारी भइरहेको छ।

यस्तै, पार्टीमा उपसभापति पदका लागि पनि आन्तरिक प्रतिस्पर्धा देखिएको छ। हालका पदाधिकारीमध्ये डा. स्वर्णिम वाग्ले उपसभापतिमा निरन्तर रहने चर्चा छ भने महिला उपसभापतिमा सोबिता गौतम र लिमा अधिकारीबीच प्रतिस्पर्धा देखिएको छ। सोबिता मन्त्री भएकाले लिमा अधिकारीलाई सर्वसम्मत रूपमा अघि बढाउने प्रयास भइरहेको बताइन्छ।

महामन्त्री पदमा भने धेरै आकांक्षी देखिएपछि निर्वाचन हुने सम्भावना बढेको छ। वर्तमान प्रवक्ता मनिष झा, सह–महामन्त्री विपिनकुमार आचार्य र महामन्त्री कविन्द्र बुर्लाकोटी लगायतले उम्मेदवारीको तयारी गरेका छन्। यद्यपि अन्तिम चरणमा सहमति हुने प्रयास पनि जारी छ।

सचिवालय र केन्द्रीय संरचनामा जेन–जी आन्दोलनसँग जोडिएका केही नयाँ अनुहारलाई पनि समेट्ने तयारी रहेको स्रोतहरूको दाबी छ। महाधिवेशनले रास्वपाको नेतृत्व संरचना मिश्रित रूपमा मनोनयन र निर्वाचन दुवै प्रक्रियाबाट टुंग्याउने संकेत देखिएको छ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट