हिन्दूकुश हिमालयमा हिउँ २७.८ प्रतिशतले घट्यो, २ अर्ब मानिसको जल सुरक्षामा खतरा
काठमाडौं । एसियाको ‘जीवनरेखा’ मानिने हिन्दूकुश हिमालय क्षेत्रमा हिउँको मात्रा निरन्तर घट्दै गएको पाइएको छ । नेपालमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले सार्वजनिक गरेको ‘स्नो अपडेट–२०२६’ अनुसार यस वर्ष हिम आवरण दीर्घकालीन औसतभन्दा २७.८ प्रतिशतले घटेको छ ।
यो गिरावटले गएको वर्षको न्यूनतम रेकर्ड समेत तोड्दै लगातार चौथो वर्ष औसतभन्दा कम हिम स्थायित्व देखिएको प्रतिवेदनले जनाएको छ । वैज्ञानिकहरूका अनुसार यसले हिन्दूकुश हिमालय क्षेत्रमा मौसमी हिम सञ्चिति प्रणाली कमजोर बन्दै गएको स्पष्ट संकेत गर्छ ।
यस क्षेत्रबाट उत्पन्न हुने १२ प्रमुख नदी बेसिनमध्ये १० वटामा अहिले सामान्यभन्दा कम हिउँ रहेको छ । विशेषगरी मेकङ नदी, तिब्बती पठार र टारिम बेसिन मा २४ वर्षयताकै न्यून स्तर रेकर्ड गरिएको छ ।
प्रतिवेदनका लेखक शेर मुहम्मद का अनुसार, हिम सञ्चितिमा आएको यो गिरावटले झण्डै २ अर्ब मानिसको पानीको स्रोतमा प्रत्यक्ष असर पार्ने खतरा बढाएको छ । “हामीले वर्षैपिच्छे हिउँको भण्डार खुम्चिँदै गएको देखिरहेका छौँ, जसले नदी प्रणालीमा निर्भर जनजीवनलाई जोखिममा पार्छ,” उनले बताएका छन् ।
हिउँ पग्लिएर आउने पानी धेरै नदीहरूको मुख्य आधार हो । हेलमण्ड नदी बेसिन मा वार्षिक बहावको ७७.५ प्रतिशत र आमु दर्या मा ७४.४ प्रतिशत पानी हिम पग्लिएर आउने गर्छ । यस वर्ष हिउँ कम हुँदा पिउने पानी, सिँचाइ, जलविद्युत उत्पादन र पारिस्थितिक प्रणालीमा प्रत्यक्ष असर पर्ने देखिएको छ ।
विशेषगरी इण्डस नदी, हेलमण्ड र आमु दर्या बेसिनका किसानहरूले रोपाइँको प्रारम्भमै सिँचाइ अभाव झेल्नुपर्ने अनुमान गरिएको छ । त्यस्तै याङ्त्जे नदी (जहाँ थ्री गर्जेज बाँध सञ्चालनमा छ), ब्रह्मपुत्र नदी र मेकङ क्षेत्रमा प्रारम्भिक गर्मी याममै जलविद्युत उत्पादन घट्ने प्रक्षेपण गरिएको छ ।
यद्यपि गंगा नदी बेसिन मा १६.३ प्रतिशत र इरावडी नदी मा २१.८ प्रतिशत बढी हिम स्थायित्व देखिए पनि यसले समग्र क्षेत्रीय संकटलाई सन्तुलन गर्न पर्याप्त नभएको प्रतिवेदनले औँल्याएको छ ।
विज्ञहरूका अनुसार हिउँ घट्नुका प्रमुख कारणमा विश्वव्यापी तापक्रम वृद्धि, कमजोर पश्चिमी वायु प्रणाली, एल निनो को प्रभाव र ‘ब्ल्याक कार्बन’ प्रदूषण रहेका छन् । तापक्रम बढ्दै जाँदा हिउँ पर्ने उचाइमा वर्षा हुन थालेको र जमेको हिउँ पनि चाँडै पग्लिने क्रम तीव्र भएको छ ।
त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. सुदीप ठकुरी ले तत्काल ठूलो प्रभाव नदेखिए पनि दीर्घकालीन जोखिम गम्भीर रहेको बताए ।
इसिमोडले सम्बन्धित देशहरूलाई खडेरी तयारी, पानी व्यवस्थापन सुधार, वास्तविक समय हिम तथ्याङ्कको प्रयोग र अन्तरदेशीय सहकार्य सुदृढ गर्न आग्रह गर्दै हिमालय क्षेत्र ‘खतराको मोड’मा पुगेको निष्कर्ष निकालेको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया