३९ अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब ६६ करोड
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला ३ कारोबार दिन बढेको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।
मंगलबार नेप्से परिसूचक ३९.४४ अंक घटेर २७४४.४० विन्दुमा झरेको छ। नेप्से घटेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ४ अर्ब ६१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३८ स्टकको ६२ हजार ५१२ पटकको कारोबारमा ४ अर्ब ६६ करोड ५० लाख २० हजार रुपैयाँबराबरको १ करोड ६ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक २।३३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १८ करोड ९९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको १८ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने रिडी पावर कम्पनीको कारोबार रकम १७ करोड रुपैयाँ नाघेको छ।
यस दिन धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक लागेको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन १९५ रुपैयाँ बढेर १ हजार ३९५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। अन्य बढेका स्टकहरुको मूल्य वृद्धिदर भने ६ प्रतिशतभन्दा कम रहेको छ।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया