सार्वजनिक लेखा समितिले ७ खर्ब ३३ अर्बभन्दा बढी बेरुजु फर्स्योट गर्नुपर्ने
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले हालसम्म ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँभन्दा बढी बेरुजु फर्स्योट गर्नुपर्ने अवस्था रहेको जनाएको छ। मंगलबार बसेको समितिको बैठकमा समिति सचिव एकराम गिरीले कार्यक्षेत्र र कार्यबोझबारे प्रस्तुतीकरण गर्दै यस्तो जानकारी दिएका हुन्।
उनका अनुसार हाल कायम बेरुजुको कुल रकम ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रुपैयाँ पुगेको छ। सार्वजनिक लेखा समितिको मुख्य जिम्मेवारी राज्यकोषबाट भएको खर्च संसद्ले निर्धारण गरेअनुसार भए–नभएको सुनिश्चित गर्नुका साथै सरकारी कोषको प्रभावकारी, मितव्ययी र पारदर्शी उपयोगको अनुगमन गर्नु हो।
समितिको कार्यक्षेत्रभित्र सार्वजनिक लेखा, महालेखापरीक्षकको वार्षिक प्रतिवेदन तथा त्यससँग सम्बन्धित निकाय र विषयहरू पर्दछन्।
बैठकमा सहभागी सांसदहरूले बेरुजुको आकार निकै ठूलो भएकाले पुराना फर्स्योटसँगै नयाँ विषयमा पनि समितिले गम्भीरतापूर्वक काम गर्नुपर्ने धारणा राखेका थिए। उनीहरूले समितिका कामकारबाही र प्रगतिलाई समय–समयमा अभिलेखीकरण गर्नुपर्ने सुझाव समेत दिएका छन्।
रास्वपाका सांसद गणेश पराजुलीले सबै बेरुजुलाई भ्रष्टाचारसँग जोडेर हेर्न नहुने बताएका छन्। त्यस्तै, श्रम संस्कृति पार्टीका सांसद निश्कल राईले प्रस्तुत तथ्यांकले नै लेखा समितिलाई थप जिम्मेवार र गम्भीर बन्नुपर्ने संकेत गरेको बताए।
नेकपाका सांसद महेन्द्र शाहीले सार्वजनिक लेखा समिति अब ‘एक्सन ओरिन्टेड’ ढंगले अघि बढ्नुपर्नेमा जोड दिए। विगतमा जस्तो समिति प्रभावकारी नभएको टिप्पणी दोहोरिन नदिन बेरुजु फर्स्योटलगायतका काममा परिणाममुखी ढंगले अघि बढ्नुपर्ने उनको भनाइ थियो।
क्याटेगोरी : समाचार













प्रतिक्रिया