Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

सहकारीको बन्द कोठाभित्र कर्मचारी गम्भीर बिरामी अवस्थामा फेला परिन्, ढोका फुटाएर उद्धार


काठमाडौं । मकवानपुरकै ठूलो सहकारीमध्येको एक हेटौँडा बचत तथा ऋण सहकारी संस्थाकी कायममुकायम व्यवस्थापक बन्द कोठाभित्र गम्भीर बिरामी अवस्थामा फेला परेकी छन् । उनलाई ढोका फुटाएर उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।

सुरुमा हेटौँडा अस्पताल लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि चितवनको भरतपुरस्थित सीएमसी अस्पतालमा लगिएको थियो । यो घटना शुक्रबार मध्याह्न करिब १२ बजेको हो ।

ती कर्मचारी व्यवस्थापकीय जिम्मेवारीमा थिइन् । परिवारका सदस्यहरुले उनलाई सहकारीका पदाधिकारी तथा कर्मचारीहरुले मानसिक तनाव दिएकाले आत्महत्या प्रयास गरेको भन्दै ७ जनाविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । सहकारीका निवर्तमान अध्यक्ष इन्द्रबहादुर बस्नेत, वर्तमान अध्यक्ष राजु वाइबा, राजन थापा, कृष्णप्रसाद दाहाल, कुलप्रसाद त्रिपाठी, नवराज खतिवडा र सुशील सुवेदीविरुद्ध उजुरी परेको हो । उजुरी दर्ता नम्बर ७३६६ हो ।

प्रहरीले पीडकहरूलाई नियन्त्रणमा लिएर सोधपुछसमेत नगरेको भन्दै पीडित परिवारले गुनासो गरेको छ । पीडितका भाइले आरोपितहरूलाई राजनीतिक संरक्षण रहेकाले प्रहरीले कारबाही प्रक्रियासमेत अगाडि नबढाएको आरोप लगाए ।

मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले पीडित उपचार गरेर फर्किएपछि दुवै पक्षलाई राखेर छलफल गरिने जनाइएको छ ।

हेटौँडा बचत सहकारीमा ७ हजार १ सयभन्दा बढी सेयर सदस्य रहेका छन् । पुस २०८२ सम्म सहकारीले ७३ करोड ४८ लाख ६५ हजार ५४४ रुपैयाँ बराबरको कुल कारोबार गरेको छ ।

सहकारीले आर्थिक वर्ष २०८१/८२ मा ५५ करोड ६४ लाख २६ हजार ५८० रुपैयाँ कर्जा लगानी गरेको थियो । ५ करोड २ लाख २९ हजार २०० सेयर पुँजी रहेको सहकारीमा ५९ करोड १६ लाख ५६ हजार ६१८ रुपैयाँ बचत निक्षेप रहेको सहकारीको २६औँ साधारणसभामा पेस भएको आर्थिक विवरणमा उल्लेख छ । संस्थाको जगेडा कोषमा भने ४ करोड ११ लाख ७७ हजार ४२७ रुपैयाँ रहेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट