Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

रसुवागढीबाट भित्रियो ३१.३० अर्बको सामान, सरकारलाई साढे ६ अर्ब रुपैयाँ


काठमाडौं । उत्तरी नाका रसुवागढीबाट चालु आर्थिक वर्षको ९ महिनामा ३१ अर्ब ३० करोड रुपैयाँ बराबरको वस्तु भित्रिएको छ । नेपाल-चीन व्यापारको महत्वपूर्ण नाकाका रुपमा रसुवागढी रहेको छ ।

आयातित सामग्रीको मूल्याङ्कनबाट ९ महिनाको अवधिमा ६ अर्ब ४२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको हो । कठिन भौगोलिक अवस्था र पटक-पटक आउने प्राकृतिक अवरोधबीच पनि नाकाबाट व्यापार सञ्चालन भइरहेको जनाइएको छ ।

नाकाबाट आयात हुने सामग्रीमा रोल कपडा, तयारी पोसाक, विद्युतीय गाडी (ईभी), जलविद्युत तथा पूर्वाधार विकास आयोजनाका निर्माण सामग्री, स्याउ, लसुन, औद्योगिक कच्चा पदार्थ, उद्योग तथा मिलका मेसिनरी सामग्री र नेपाली सेनाले निर्माण गरिरहेको ‘फास्ट ट्र्याक’ आयोजनाका उपकरण प्रमुख रहेका छन् ।

नेपालबाट चीनतर्फ भने हस्तकलाका सामग्री, परम्परागत नेपाली कपडा, बाँसका मुढा, तिब्बत क्षेत्रमा चौँरीलाई खुवाइने ‘प्याकिङ’ गरिएको सुक्खा घाँस, चाउचाउ तथा बिस्कुट गरी करिब ६५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएका छन् । सीमित उत्पादन क्षमताका बाबजुद नेपाली वस्तुको निर्यात क्रम विस्तार हुँदै गएको भन्सार कार्यालयले जनाएको छ ।

गत असार २४ गते ल्हेन्देखोलामा आएको भीषण बाढीले मितेरी पुल बगाएपछि केही समय व्यापार पूर्ण रूपमा प्रभावित भएको थियो । पुल पुनः निर्माण ढिलो सम्पन्न हुँदा गत पुस १७ गतेदेखि मात्रै सामग्रीको आयात(निर्यात भई पुनः नियमित रूपमा सञ्चालन हुन थालेको भन्सार कार्यालयले जनाएको छ ।

ऐतिहासिक रूपमा भृकुटी र श्रङ्चङ गम्पोबीचको वैवाहिक सम्बन्धपछि नेपाल र तिब्बतबीच व्यापारिक सम्बन्ध विस्तार भएको मानिन्छ । यही ऐतिहासिक व्यापार मार्ग आधुनिक स्वरूपमा विकास हुँदै आज रसुवागढी नेपालको प्रमुख उत्तरी व्यापारिक प्रवेशद्वार बनेको छ ।

चीन सरकारले २०७२ मङ्सिर १५ गतेदेखि रसुवागढी नाकालाई पूर्ण मान्यता दिएपछि व्यापारिक गतिविधि थप बढेको थियो । बाढीको असरले भन्सार याडमा सामान जाँचपास गर्ने मुख्य स्थान बालुवा खोलाको किनारमा रहेको छ । दिनभरि चिसो हावा र धुलोबीच कर्मचारीले निरन्तर काम गर्नुपर्ने अवस्था रहेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट