सिजन सकिन लाग्दा आँपको मुल्य बढ्यो, प्रतिकिलो कति ?
काठमाडौं । आँपको सिजन अन्तिम चरणमा पुगेसँगै बजारमा यसको मूल्य ह्वात्तै बढेको छ। आपूर्ति घट्न थालेपछि सोमबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको थोक मूल्यसूचीमा मालदह र दसहरी दुवै जातका आँपको मूल्य उल्लेखनीय रूपमा बढेको देखिएको हो।
समितिका अनुसार सोमबार मालदह आँप प्रतिकिलो औसत १५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार यही आँप ९५ रुपैयाँ प्रतिकिलोमा किनबेच भएको थियो। एकैदिन यसको मूल्य प्रतिकिलो ५५ रुपैयाँले बढेको हो।
त्यस्तै, दसहरी आँपको थोक मूल्य पनि उकालो लागेको छ। आइतबार प्रतिकिलो ११५ रुपैयाँमा कारोबार भएको दसहरी सोमबार १६० रुपैयाँ पुगेको छ। यसअनुसार यसको मूल्य एकैदिन ४५ रुपैयाँले वृद्धि भएको छ।
यसअघि असारको पहिलो सातासम्म मालदह आँप ८०–९० रुपैयाँ र दसहरी १००–११० रुपैयाँ प्रतिकिलोमा कारोबार हुँदै आएको थियो। तर सिजन सकिन लागेसँगै बजारमा आपूर्ति घट्दा मूल्यमा चाप परेको देखिएको छ।
व्यापारीहरूका अनुसार अब सिजन सकिने क्रममा रहेकाले आगामी दिनमा बजारमा आँपको आपूर्ति थप घट्न सक्ने र त्यसको प्रभाव मूल्यमा पनि पर्न सक्ने अनुमान गरिएको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया