रोनाल्डोको घोषणा : ‘२०२६ विश्वकप नै मेरो अन्तिम विश्वकप’
काठमाडौं। पोर्चुगलका कप्तान तथा विश्व फुटबलका चर्चित स्टार क्रिस्टियानो रोनाल्डोले सन् २०२६ को फिफा विश्वकप आफ्नो खेल जीवनको अन्तिम विश्वकप हुने घोषणा गरेका छन्। स्पेनविरुद्धको अन्तिम–१६ को खेलअघि आयोजित पत्रकार सम्मेलनमा उनले अब विश्वकपमा आफू पुनः नदेखिने स्पष्ट पारेका हुन्।डलासमा आयोजित पत्रकार सम्मेलनमा ४१ वर्षीय रोनाल्डोले आफ्नो छैटौँ विश्वकप सहभागितालाई विशेष अवसरका रूपमा लिँदै प्रतियोगिताको प्रत्येक क्षणको आनन्द लिन चाहेको बताए। उनले स्पेनविरुद्धको खेल नै आफ्नो अन्तिम विश्वकप खेल नहोस् भन्ने आशा पनि व्यक्त गरे।
रोनाल्डोले भने, “यो मेरो अन्तिम विश्वकप हो, त्यसैले म यसलाई पूर्ण रूपमा उपभोग गर्न चाहन्छु। तर, भोलिको खेल नै मेरो अन्तिम विश्वकप खेल नहोस् भन्ने मेरो चाहना छ।”
उनले आफ्नो लामो फुटबल यात्राप्रति सन्तुष्टि व्यक्त गर्दै खेलप्रतिको समर्पणमा कहिल्यै कमी नराखेको बताए।
“मैले फुटबलका लागि शतप्रतिशत होइन, हजार प्रतिशत दिएको छु। मैदानमा जे परिणाम आए पनि म सन्तुष्ट हुनेछु। फुटबलप्रतिको मेरो प्रेम आज पनि उस्तै छ,” उनले भने।
सन् २००३ मा १८ वर्षको उमेरमा पोर्चुगलको राष्ट्रिय टोलीबाट डेब्यु गरेका रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलका सबैभन्दा सफल खेलाडीमध्ये एक मानिन्छन्। उनले पोर्चुगललाई सन् २०१६ को युरोपियन च्याम्पियनसिप (युरो) र सन् २०१९ को यूईएफए नेसन्स लिगको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १४६ गोल गर्ने कीर्तिमान बनाएका रोनाल्डोले जारी विश्वकपमा पनि प्रभावशाली प्रदर्शन गरेका छन्। उनले उज्बेकिस्तान र क्रोएसियाविरुद्ध गोल गर्दै प्रतियोगितामा हालसम्म तीन गोल गरिसकेका छन्।
उमेर बढ्दै गए पनि आफ्नो खेल शैलीलाई समयअनुसार परिवर्तन गरेको र अझै पनि टोलीका लागि निर्णायक योगदान दिन सक्ने विश्वास उनले व्यक्त गरे। विश्वकपको उपाधि जिते वा नजिते पनि त्यसले आफ्नो सम्पूर्ण खेल जीवनको मूल्यांकन निर्धारण नगर्ने उनको भनाइ थियो।रोनाल्डोले आफ्नो सफल यात्राप्रति भगवानप्रति आभार व्यक्त गर्दै अपेक्षाभन्दा धेरै उपलब्धि हासिल गर्न पाएको बताए।अब सबैको ध्यान सोमबार हुने पोर्चुगल र स्पेनबीचको अन्तिम–१६ को बहुप्रतीक्षित प्रतिस्पर्धामा केन्द्रित हुनेछ। पोर्चुगल लगातार दोस्रो पटक क्वार्टरफाइनल पुग्ने लक्ष्यसहित मैदानमा उत्रँदा रोनाल्डो आफ्नो अन्तिम विश्वकप यात्रालाई अझ लम्ब्याउने प्रयासमा हुनेछन्।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया