डीडीसी महाप्रबन्धकको जिम्मेवारी डा. शरण पाण्डेलाई
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण पाण्डे दुग्ध विकास संस्थान (डीडीसी) को महाप्रबन्धकमा नियुक्त भएका छन् ।
कृषिमन्त्री गीता चौधरीको मन्त्रीस्तरीय निर्णयबाट यो जिम्मेवारी पाएका पाण्डेले बिहीबार नै संस्थानको केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गरेलगत्तै नवनियुक्त महाप्रबन्धक पाण्डेले संस्थानको सबैभन्दा ठूलो समस्याको रूपमा रहेको किसानको भुक्तानीलाई आफ्नो मुख्य प्राथमिकतामा राखेका छन् ।
उनले किसानको ५० करोड रुपैयाँ बराबरको बक्यौता आगामी तीन महिनाभित्र भुक्तानी गरिसक्ने योजना बनाएको जनाइएको छ । पाण्डेको नियुक्तिसँगै डीडीसीको कर्मचारी संरचनामा पनि केही फेरबदल भएको छ । यसअघि निमित्त महाप्रबन्धकको जिम्मेवारीमा रहेका सञ्जीव झा संस्थानकै आठौँ तहको जिम्मेवारीमा फर्किएका छन् ।
त्यस्तै, विगतमा मन्त्रालय तानिएका राजेन्द्र अधिकारीले संस्थानको नायब महाप्रबन्धक (डीजीएम) को रूपमा पुनः जिम्मेवारी सम्हालेका छन् ।
मन्त्रालयको पशुपक्षी तथा मत्स्य विकास महाशाखा प्रमुखसमेत रहेका पाण्डेले बिक्री केन्द्रहरूको विस्तार र उत्पादनको गुणस्तरमा सुधार ल्याएर उपभोक्ताको विश्वास जित्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले संस्थानलाई घाटाबाट मुक्त गराउँदै किसान र उपभोक्तामैत्री बनाउन अधिकतम प्रयास गर्ने जनाइएको छ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया